एजेन्सी - फ्रेन्च लिग-१ को सन् २०२१/२२ सिजन अन्तर्गत गए राती भएको खेलमा लियोनल मेस्सी पीएसजीको समर्थकमाझ सार्वजनिक भएका छन् । बार्सिलोनाका पूर्वस्टार मेस्सीसँगै सर्जियो रामोस, गोलकिपर जियानलुइगी डोनारुमा, जर्जिनियो विजनाल्डम र आच्रफ हाकिमीलाई खेलअघि समर्थकमाझ सार्वजनिक गरिएको हो ।
खेलमा दावेदार टोली पीएसजीले स्ट्रासवर्गलाई ४-२ गोलले पराजित गरेको छ । पीएसजीका लागि माउरो इकार्डी, काइलियन एमबाप्पे, युलिन ड्राक्सलर र पाब्लो सराबियाले गोल गरे। स्ट्रासबर्गका केभिन गामेरियो र लुडोभिक एजोक्विइले गोल गरे ।

पीएसजीको घरेलु मैदान, पार्क डेस प्रिन्सेसमा खेलिएको खेलमा घरेलु टोलीका नयाँ खेलाडी लियोनल मेस्सी, सर्जियो रामोस र जियानलुइगी डोनारुम्मा सार्वजनिक भए पनि खेल भने खेलेनन् । त्यस्तै पीएसजीका अर्का स्टार खेलाडी नेयमार पनि खेलमा सम्मिलित थिएनन् ।
यद्यपि पीएसजीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिन सफल भएको थियो । स्ट्राइकर माउरो इकार्डीको गोलमा अग्रता लिएको घरेलु टोलीले खेलको २५औं मिनेटमा युवा स्टार खेलाडी किलियन एमबाप्पेको गोल मार्फत अग्रता दोब्बर बनाएको थियो ।

त्यसको दुई मिनेट पश्चात् पीएसजीले खेलमा तेस्रो गोल थप्यो। यस पटक भने मिडफिल्डर जुलियन ड्राक्सलरको गोलले घरेलु टोलीको अग्रता बलियो बनाएको हो । पहिलो हाफमा ३(० गोलले पछि परेको स्ट्रासवर्गले दोस्रो हाफमा भने दुई गोल फर्कायो । खेलको ५३औं मिनेटमा पाहुना टोलीका स्ट्राइकर केविन गामेरो तथा ६४औं मिनेटमा लुडोविच अजोर्कुले गोल गर्दा पाहुना टोली खेलमा फर्किएको थियो ।
तर खेलको ८६औं मिनेटमा पीएसजीले चौथो गोल गर्न सफल भयो । एमबाप्पेको पासमा फरवार्ड पाब्लो सराबियाले गोल गर्दा पीएसजीले पुनः अग्रता दोब्बर बनाएको थियो । यस जितसँगै पीएसजीले दुई खेलमा दुई जित निकालेको छ ।
प्रतिक्रिया