नेकपा स्थायी कमिटी बैठक, बचाउ र विरोधमै केन्द्रित

७ बर्ष अगाडि

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी रहेको छ । बिहीबारको बैठकमा नेताहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् ।

अध्यक्षद्वय ओली र दाहाल निकटका नेताले पार्टी नेतृत्व र सरकारको बचाउ गरेका छन् भने संस्थापनइतर पक्षका नेताले विरोध गरेका छन् । पार्टी नेतृत्व र सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै संस्थापनइतर पक्षका नेताले चर्काे विरोध गरेका छन् ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबारदेखि जारी स्थायी कमिटी बैठकमा घनीभूत छलफल भइरहेको छ । छलफलका क्रममा अधिकांश सदस्यले सरकार तथा पार्टी नेतृत्वको गतिहीनता र कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
स्थायी कमिटी सदस्य किरण गुरुङले नेतृत्वको गलत कार्यशैलीकै कारण पार्टी एकता र सरकारको गति शून्य बन्न पुगेको बताए । विधि, विधान एवं मापदण्ड मिचेर नेतृत्वले काम गर्न थालेपछि सरकार र पार्टीको काम अव्यवस्थित हुन पुगेको उनले बताए ।

पार्टी एकीकरण भएको लामो समय बिते पनि एकीकरण प्रक्रिया टुंगो लाग्न नसक्नुका पछि नेतृत्वको गलत कार्यशैली रहेको गुरुङको भनाइ थियो । जनताले कम्युनिस्ट पार्टीलाई दुई तिहाइ मत दिए पनि पार्टीले त्यसलाई सही तरिकाले जनताको पक्षमा सदुपयोग गर्न नसकेको उनले बताए ।
‘जनताले हामीलाई दुई तिहाइ दिएका छन्, यो हामीले घमण्ड गर्ने विषय होइन,’ गुरुङले भने, ‘दुई तिहाइ भनेको मनपरी गर्न पाइने छुट पनि होइन, दुई तिहाइ चुनौती हो, सामना गरेर जानुपर्छ ।’
स्थायी कमिटीका सदस्य एवं वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारको बचाउ गर्दै पार्टी पंक्तिबाट सरकारलाई सहयोग नभएको बताए । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया