भारत पाँचौं आकर्षक लगानी गन्तव्य

७ बर्ष अगाडि

नयाँ दिल्ली - भारत लगानीका लागि पाँचौं आकर्षक गन्तव्य बनेको पछिल्लो सर्वेक्षणले देखाएको छ । विश्व आर्थिक वृद्घिमा आएको सुधार र शेयर बजारमा देखिएको सकारात्मक अवस्थाका आधारमा भारत पाँचौं लगानी गन्तव्य बनेको बताइएको छ । विश्वप्रसिद्ध अनुसन्धान तथा परामर्शदाता संस्था प्राइस वाटरकूपर्स (पीडब्ल्यूसी)ले विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ)माझ गरेको सर्वेक्षणमा यस्तो पाइएको हो । त्यस्तै, अधिकांश लगानीकर्ता भारतमा लगानी गर्ने सही समयको पर्खाइमा रहेको पनि सर्वेक्षणमा पाइएको छ । विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलन शुरुआतको चरणमा आएको यस्तो प्रतिवेदनले पहिले नै लगानीकर्ताका लागि आकर्षक रहेको भारतको तस्वीर अझ स्पष्ट हुने विश्लेषण गरिएको छ ।

विश्वव्यापी लगानीका लागि अमेरिका सबैभन्दा उत्कृष्ट गन्तव्य बनेको छ । यससँगैै प्रमुख कम्पनीका कार्यकारी अधिकारीहरूले विश्वभरको आर्थिक र व्यावसायिक वातावरणमा आश्चर्यजनक विश्वास तथा सकारात्मक भावना देखिएको प्रतिवेदनमा अगाडि भनिएको छ । अमेरिकालाई सीईओहरूले वृद्धिका लागि तीनमध्ये एक सबैभन्दा महत्त्वपूर्ण राष्ट्रका रूपमा लिएको पाइएको छ । अमेरिकालाई पछ्याउँदै सूचीको दोस्रो स्थानमा चीन रहेको छ भने जर्मनी र बेलायत क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।

‘भारतले जापानलाई उछिन्दै पाँचौं उत्कृष्ट लगानी गन्तव्य बनेको छ,’ प्रतिवेदनमा भनिएको छ । विगतका केही वर्षमा भारतमा भएको संरचनात्मक सुधारले अर्थतन्त्रको गतिशीलतालाई परिवर्तन गर्दै वर्तमान अवस्थामा राष्ट्रको उत्कृष्ट तस्वीर सबैका सामु प्रस्तुत गरेको पीडब्ल्यूसीका अध्यक्ष श्याम मुखर्जीले बताएका छन् । भारतमा लगानी गर्ने अधिकांश लगानीकर्ता वृद्धिबारे सकारात्मक नै रहेको पाइएको छ । यसबाहेक सरकारले पनि पूर्वाधार, म्यानुफ्याक्चरिङ र कौशलका क्षेत्रमा आउने समस्यालाई सम्बोधन गर्न सरकारले आवश्यक कदम पनि चालिरहेको बताइएको छ ।

सर्वेक्षणअनुसार कम्तीमा पनि ५४ प्रतिशत सीईओले आफ्नो कर्मचारी सङ्ख्या थप गर्ने योजना रहेको अभिव्यक्ति दिएका थिए भने कर्मचारीको सङ्ख्या कम गर्नेबारेमा सोचिरहेको बताउने सीईओको सङ्ख्या १८ प्रतिशत रहेको थियो । स्वास्थ्य सेवा, प्रविधि, व्यावसायिक सेवा, सञ्चार, हस्पिटालिटी र लिजरजस्ता क्षेत्रमा सबैभन्दा बढी कर्मचारीको आवश्यकता रहेको पाइएको छ । त्यसैगरी, विश्व अर्थतन्त्रबारे सकारात्मकताको कुरा गर्ने हो भने ४० प्रतिशत सीईओहरूले भूराजनीतिक अनिश्चय र साइबर क्षेत्रमा हुने जोखीमबारे आफू धेरै नै चिन्तित रहेको अभिव्यक्ति दिएका थिए । उता, यस्तै चिन्ता आफूलाई आतङ्कवादबाट हुने गरेको बताउनेको सङ्ख्या ४१ प्रतिशत थियो, आर्थिक अभियानमा खबर छ  ।

७ बर्ष अगाडि

प्रतिक्रिया