नेपालमा ठगी गरी बिजनेस भिसामा पोर्चुगल पुगेका ढुङ्गाना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - ठगी गरी फरार रहेका एक अभियुक्तलाई नेपाल प्रहरीले  पोर्चुगल पुगेर पक्राउ गरेको छ ।

काभ्रेपलान्चोक घर भएका केदार ढुङ्गानालाई नेपाल प्रहरीको इन्टरपोल शाखाले युरोपेली मुलुक पोर्चुगल पुगेर नियन्त्रणमा लिएको हो । आज बिहान ११ बजे डीएसपी नेतृत्वको टोली अभियुक्त सहित काठमाडौंमा ल्यान्ड भएको छ । 

उनलाई पोर्चुगलबाट नेपाल ल्याएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए । ढुङ्गानाले तत्कालीन एनडीईपी डेभलपमेण्ट बैंकबाट ठगी गरेर २ करोड रुपैयाँ लिएका थिए । 

त्यस्तै, अन्य मानिससँग पनि लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालत, ललितपुर जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा छ ।

उनीविरुद्ध प्रहरीले रेड कर्नर नोटिस गत वैशाख ३१ गते जारी गरेको थियो । फरार रहेका ढुङ्गाना युरोपमा व्यापार गरेर बसेको खुलेपछि प्रहरीले इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिएको हो । उनी त्यहाँ बिजनेस भिसामा पुगेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया