हुम्ला विमानस्थलबाट पाँच केजी ३०० ग्राम यार्सागुम्बा बरामद गरिएको छ । विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका–१ हेप्का हुम्ला निवासी नाक्कु तामाङका ३१ वर्षीय छोरा नुर्वु तामाङ रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले शुक्रबार नेपालगञ्जबाट सिमकोट गएको तारा एयरको विमानबाट यार्सागुम्बा बरामद गरिएको बताए ।
हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्बा शर्माका अनुसार सिमकोट विमानस्थलमा खटिएको प्रहरीले नियमित जाँच गर्ने क्रममा पुर्जीविनाको पाँच केजी यार्सागुम्बा भेटाएपछि बरामद गरेर जिल्ला डिभिजन वन कार्यालयमा पठाइएको छ । “डिभिजन वन कार्यालय बझाङले दुई केजीको छुट पुर्जी दिएको भए पनि तामाङसँग भएको सबै यार्सागुम्बा डिजिटल तराजुबाट तौल जाँच गर्दा बिना पुर्जीको तीन केजी यार्सा भेटिएपछि बरामद गरिएको हो”, प्रहरी नायब उपरीक्षक शर्माले भने, “जाँचको क्रममा राजस्व तिरेको पुर्जीभन्दा पनि बढी अवैध सामान भएकाले बरामद गरेका हौँ ।”
बरामद यार्सागुम्बासहित नियन्त्रणमा लिइएका तामाङलाई डिभिजन वन कार्यालय हुम्लाको जिम्मा लगाइएको हुम्ला प्रहरीले जनाएको छ ।
यस्तै रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए।
माडी गाउँपालिकाका–२ मा आज बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । भैरहवाबाट कोर्चाबाङ शव पु¥याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो ।
प्रतिक्रिया