काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । पार्टीको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना कम हुँदै गएपछि बैठकमा अन्य विकल्पका विषयमा छलफल हुने भएको छ ।
यस अघि भएको बैठकमा दुई दर्जन बढी नेताहरुले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा महाधिवेशन कार्यतालिकासम्बन्धि कुनै प्रस्ताव पेश भएको छैन् । तर पार्टीको वैधानिकतालाई मध्यनजर गर्दै कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
यस्तै हिजोको बैठकमा नेता डा. शेखर कोइरालाले आफ्नो नौ बुँदे सुझाव राखेका छन् । उनले सरकार गठन भएको एक महिना वित्दा पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा देउवाको आलोचना गरे । प्रधानमन्त्रीले सरकार सञ्चालनमा सतप्रतिशत ध्यान दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टीको काममा खर्च भइरहेको भन्दै यसरी सरकार प्रभावकारी हुन नसक्ने बताए ।
डा. कोइरालाले एक महिनादेखि १५ मन्त्रालय नेतृत्वविहीन हुँदा कसरी सरकारले जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छ भनेर प्रश्न गरे । संस्थापन पक्षले भने मन्त्रिपरिषद् विस्तार हुन नसक्नुको दोष अन्य दलहरुका कारण सरकारले पूर्णता पाउन नसकेको बताएको छ ।
विशेष गरी नेकपा एमालेको माधव नेपाल पक्षलाई पर्खिनुपरेका कारण ढिलाइ भएको भनाई छ । यस्तै, पार्टी विधानको व्यवस्थामा असहमति जनाउँदै कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले राजीनामा दिएका छन् ।
महासमिति बैठकले गरेको निर्णय अनुसार केन्द्रीय सदस्य पनि वडामा गएर चुनाव जितेर आउनुपर्ने व्यवस्था हटाएको भन्दै आमन्त्रित केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेलगायतले राजीनामा दिएका हुन् ।
प्रतिक्रिया