हालसम्मकै उच्च आवेदन परेको सानिमा लाईफको आईपीओ बाँडफाँड आज, करिब १८ लाख ५० हजार आवेदकको हात खाली

४ बर्ष अगाडि

काठमाडौं - हालसम्मकै उच्च आवेदन परेको सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज हुने भएको छ ।

उक्त आईपीओको बाँडफाँड आज सानिमा लाइफ इन्स्योरेन्सको कार्यालय, दरबारमार्ग, काठमाडौँमा हुने भएको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गतेदेखि साउन २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २४ लाख १९ हजार १ सय २७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको जनाएको छ । यो मागभन्दा ६।८४ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले यो आईपीओको बाँडफाँड गोलाप्रथाद्धारा गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ४० हजार आवेदकले १० कित्ता सेयर प्राप्त गर्नेछन् भने बाँकी करिब १८ लाख ५० हजार आवेदकहरुको भने हात खाली हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया