विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न

४ बर्ष अगाडि

काठमाडौँ -  विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

विश्व सम्पदा क्षेत्रमा रहेका ७० सम्पदामध्ये १४ वटामा कुनै क्षति नभएको अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए । हनुमानढोका विकास समितिबाट पुनःनिर्माण भइरहेको गद्दी बैठक र नौतले भवनको बीचमा रहेको राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनाराण शाहको शयन कक्ष, जैशी देवल र दश अवतार आगामी तीन महिनाभित्र पुनःनिर्माण सम्पन्न गर्ने गरी तीव्ररूपमा काम भइरहेको छ । 

त्यसैगरी यहाँको अर्को महत्वपूर्ण सम्पदा काष्ठमण्डप पनि दशैँअगावै सक्ने गरी काम भइरहेको छ । हाल यस सम्पदामा गजुर राख्ने तयारी छ । आगम्छे घर जापानी सहयोग नियोग ९जाइका० को अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको अड्डाले जनाएको छ । 

जगन्नाथ र गोपीनाथ मन्दिर बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनःनिर्माण भइरहेको छ । कामपाबाट पुनःनिर्माण भइरहको माजुदेग, शिवपार्वती मन्दिर र नारायण मन्दिरको भने निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।

हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ । दरबारको ७० प्रतिशत काम सकिएको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनःनिर्माणमा केही ढिलाइ भएको छ । 

नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ । यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनःनिर्माण सम्पन्न भइसकेको छ  ।

४ बर्ष अगाडि

प्रतिक्रिया