काठमाडौं- पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताका आधारमा खोप लगाउन कार्यक्रम सम्पन्न गरिएको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए ।
उनका अनुसार नेपाल पर्यटन बोर्ड, होटल माउन्ट कैलाश, होटल बाराही, बुमराङ रेष्टुरेण्ट र खपौदीको द ब्रिजमा गरेर पाँच स्थानमा खोप केन्द्र तोकिएको थियो । प्रत्येक खोप केन्द्रमा ५०० खोपको व्यवस्था गरिएको शर्माले जानकारी दिए ।
परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले निकै लामो समयको प्रयासपछि पहिलो चरण सरकारले पर्यटन क्षेत्रलाई दुई हजार ५०० खोप छुट्याएको बताए । उनले पहिलो चरणको खोप अग्रमोर्चामा खटिने मजदुर, कर्मचारी र व्यवसायीलाई प्रबन्ध गरिएको जानकारी दिए ।
उनले अहिले लगाइएको खोप पर्याप्त नभएको जनाउँदै पुनः बाँकी पर्यटनकर्मीका लागि पनि सरकारले छिटो खोप उपलब्ध गराउनेमा आशावादी रहेको बताए । उनका अनुसार पोखरामा २० हजार भन्दा बढी पर्यटन क्षेत्रमा आबद्ध छन् ।
प्रतिक्रिया