अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन माग

४ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारीका लागि अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गरेर स्वदेश फर्काउन संसदमा आवाज उठेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा पूर्व स्वास्थ्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दल एमालेका साँसद खगराज अधिकारीले हिंसाग्रस्त अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि गएका युवाहरु गम्भीर संकटमा रहेको बताए ।
 
अमेरिकाले आफ्ना सेना फिर्ता बोलाएपछि हाल विद्रोही तालिबानले अफगानिस्तानका विभिन्न प्रान्तीय राजधानीहरु आफ्नो नियन्त्रणमा लिइरहेका खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा आइरहेका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गरेकोमा पछुतो नभएको बताए पनि तालिबानले अफगानिस्तानका पाँचवटा क्षेत्रीय राजधानी नियन्त्रणमा लिएको छ । अमेरिका र बेलायतले तत्काल अफगानिस्तान छाड्न आफ्ना नागरिकलाई आग्रह गरेका छन् । 

तालिबान बन्दुकधारीहरूले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्रीको निवासमा कार बम हमला गरेका छन् । अफगानिस्तानका सैनिक जेनरल सामी सदातले दक्षिणी हेलमन्द प्रान्तमा तालिबान लडाकुविरुद्ध जारी लडाईंको नेतृत्व गरिरहेका छन् तर उनले तत्काल लडाईंको मोर्चामा जित हासिल गर्नेबारे केही बताउन सकेका छैनन् ।

अफगानिस्तानको ग्रीनजोनमा रहेका विदेशी दूतावासमा नेपालीहरु कार्यरत छन् । विगतमा उनीहरु स्थानीय तालिबान चरमपन्थीहरुको आक्रमणमा पर्ने गरेका थिए । वैदेशिक रोजगार विभागका अनुसार हालसम्म अफगानिस्तानमा रोजगारीमा जानका लागि १३ हजार ९ सय ९० जनाले श्रम स्वीकृति लिएका छन् भने गत वर्ष मात्रै १ हजार ७३ जनाले श्रम स्वीकृति लिएर गएका थिए । 

नेपालबाट शुरूमा कतार र यूएईलाई आधार बनाएर युवालाई लगिने र त्यहाँबाट मानव तस्करहरुले विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाएर अफगानिस्तान पठाउने गरेका छन् । त्यसका कारण अफगानिस्तानमा कति नेपाली छन्, स्पष्ट नभएको बताउने गरिएको छ ।

सन् २०१६ मा अफगानिस्तानमा भएको आत्मघाती विष्फोटमा करिब डेढ दर्जन नेपाली सुरक्षागार्डको मृत्यु भएको थियो । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तान मामिला हेर्दै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया