काठमाडौं, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते निष्कासन गरेको आईपीओको बाँडफाँड साउन २६ गते भइसकेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको कारोबार अब छिट्टै नै सुरू हुनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ९५ रुपैयाँ ७५ पैसादेखि र अधिकतम २८७ रुपैयाँ २५ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले साउन १४ गतेदेखि साउन १९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको थियो ।
अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।
गोलाप्रथाबाट गरिएको बाँडफाँड सर्वसाधारणलाई छुट्याएको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर ६८ हजार ४ सय ७४ जनाले समान १० कित्ताका दरले प्राप्त गरेका थिए । यस्तै, १० कित्ता भन्दा बढीका लागि आवेदन दिने आवेदकहरुमध्येबाट ६ जनाले ११ कित्ता सेयर प्राप्त गरेका थिए ।
प्रतिक्रिया