सुनसरीको कोशी गाउँपालिका– ४ मा आज जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीय रामेखङ खत्वे रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । बिहान शौच गर्न गएको बेलामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट खत्वेको घटनास्थलमै मृत्यु भएकाले शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
पछिल्लो समय आरक्षबाट राति तथा दिउँसो निस्कने हात्तीले दैनिक आतङ्क मचाउँदै आएको छ । हात्तीले स्थानीयवासीका बालीनाली नष्ट गर्नाका साथै घर टहरासमेत नष्ट गरेको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताए ।
आरक्ष आसपास क्षेत्रमा हात्ती आतङ्क नियन्त्रणका लागि पटकपटक स्थानीयवासीले माग गर्नाका साथै आन्दोलनका कार्यक्रम गरे पनि अहिलेसम्म सम्बन्धित निकायले चासो नदिएको जङ्गली जनावर पीडित सङ्घर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डलले बताए ।
यस्तै भालुको आक्रमणमा परी २ जना घाइते भएका छन् । जुम्लाको चन्दननाथ नगरपालिकामा बिहीबार चन्दननाथ नगरपालिका ४ निवासी २९ वर्षीय हिमबहादुर रोकाया र २६ वर्षीया निर्मला थापा रोकायालाई आक्रमण गरी घाइते बनाएको थियो ।
मान्छेलाई आक्रमण गरेको भालु बिहान ९ बजे सिंगाचौरस्थित हीरा सार्कीको गोठमा पसेको थियो । गोठमा पसेको भालुले घरधनी सार्कीलाई समेत आक्रमण गरी घाइते बनाएको थियो । सिगाचौरको गोठमा पसेको भालु सुरक्षित नियन्त्रण गर्न खोज्दा सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न आएपछि भालुलाई गोली हानी मारिएको छ ।
मारिएको भालुको पशुविज्ञबाट पोष्टमार्टम गरेर अन्त्येष्टि गरिने डिभिजन वन कार्यालय प्रमुख दिनेश खत्रीले जानकारी दिए ।
प्रतिक्रिया