भिरबाट लडेर एक जनाको मृत्यु, फरार अभियुक्त १८ वर्षपछि पक्राउ

४ बर्ष अगाडि

उदयपुरको रौतामाई गाउँपालिका–८ पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ डिल्लीबरगाउँका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पुवाँरेबाट घरजान डिल्लीबरतर्फ लाग्दा अग्लो भिरबाट लडेर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

आज बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । इलाका प्रहरी रौताको टोली घटनास्थल पुगेर सर्जिमिन मुचुल्का गरी स्वास्थ्य परीक्षणका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको बताइएको छ ।

मृतक मगर राति कुन समयमा किन र कसरी लडे भन्ने विषयमा  प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकृत बेदप्रसाद गौतमले बताए ।

शिशुको हत्या गरी फरार व्यक्ति १८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन् ।

नवजात शिशु मारेको अभियोगमा सार्की फरार रहेकामा उनलाई बुधबार पक्राउ गरिएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । जिल्ला अदालतले २०६० वैशाख ११ गते निजलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकामा पोखरा पुनरावेदन अदालतले २०६० कात्तिक १८ उक्त फैसला सदर गरेको थियो ।

कर्तव्य ज्यान मुद्दामा तत्काल पक्राउ परेकी टीकामाया अम्गाईँ भन्ने टीका थापाको बयानमा निज सार्कीले नै जबर्जस्ती करणी गरेकाले गर्भ रहन गएको  र छोरी जन्मिएपछि खरबारीमा लगेर हत्या गरेका थिए  । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया