काठमाडौं, प्रहरीले ५ लाख भन्दा बढी नगदसहित २१ जनालाई पक्राउ गरेको छ । प्रहरीले तास खेलिरहेका २१ जनालाई ५ लाख १३ हजार ४०० रुपैंया सहित पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका १६ पक्नाजोल बस्ने हसिम अख्तरको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका २६ बस्ने बाग्लुङ वुर्तिवाङ गाउँपालिका ६ घर भएका ३३ वर्षीया नरमाया बुढामगर लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६९ हजार ८ सय ६० रुपैयाँ र १० गड्डी तास सहित पक्राउ गरेको हो ।
त्यस्तै, कास्कीको पोखरा महानगरपालिका १० उत्तमचोक डेरा गरी बस्ने ३५ वर्षीया सरु गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा सरु लगायत १३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ५१ हजार ५ सय ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया