भुजीखोलाको बाढीले बगाएका ९७ घर पुनःर्निर्माण सुरु, १० बर्षमा पनि बनेन पुल

४ बर्ष अगाडि

गत वर्षको भदौ १७ गते भुजीखोलामा आएको बाढीसँगैको पहिराले पूर्ण क्षति भएका निजी आवास पुनर्निर्माण गर्न थालिएको छ । झण्डै एक वर्ष अर्काको घरमा शरणमा बसेका पीडितले नगरपालिकाको सहयोगमा पुनःर्निर्माण गर्न थालेका हुन् । 

बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका बाढीपहिरो पीडितका लागि नगरपालिकाले आवास निर्माण गर्न सहयोग गरेकाले  काम अघि  बढाइएको स्थानीय पीडित लालमाया घर्तीले बताए। सङ्घीय सरकार र प्रदेश सरकारको कार्यक्रम पर्खिएकामा  नगरपालिकाले विलम्ब भएको भन्दै दामासाहीले पीडितहरुलाई अनुदान उपलब्ध गराएर घर निर्माण गर्न लगाएको हो ।
बाढी–पहिरापछि दाताहरुबाट सङ्कलित झण्डै रु दुई करोड ४६ लाख सहयोग र नगरको बजेट समेतबाट ९७ पीडित परिवारका घर निर्माणको काम थालिएको नगरप्रमुख देवकुमार नेपालीले बताए ।बाढी र पहिराका कारण विस्थापित १३० परिवार घर पूर्ण क्षति भएकामा ९० घरपरिवारले धमाधम घर बनाइरहेका छन् । आंशिक क्षति भएर पनि बस्न नमिल्ने अवस्थामा रहेका सात घर पनि प्राप्त भएको रकमले बन्दैछ । “प्रत्येक घरका लागि दुई लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराएका छौँ, सोही रकमबाट उहाँहरु घर बनाउँदै हुनुहुन्छ”, उनले भने, “सरकारले दिने भनेको अनुदानमा प्रक्रिया पु¥याउनै कठिन भएकाले तत्कालको समस्या टार्नेतर्फ लाग्यौँ ।” 

“एकपटक ५० हजार दिएको थियो, फेरि एक लाख ५० हजार दियो, के गर्ने त्यतिले घर बन्दैन, नाक र कानमा लगाएको सुन बेचेरै भए पनि घर बनाउँदैछु”, वडा नं.९ बोबाङकी पीडित लालमाया घर्तीले भने, “उता बाढी यता पहिराको डर, छिमेकीको जग्गामा घर बनाउन लागेकी छु, त्यो पनि उधारोमा जग्गा लिएर ।” 

सरकारले सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा पहाडी क्षेत्रमा  बाढी–पहिराका कारण पूर्ण क्षति भएका घरका लागि रु चार लाख अनुदान दिने नीति  बनाएकोे थियो, जस्मा मनसुनजन्य विपत् प्रभावित पुनर्निर्माण पुनस्र्थापना कार्यक्रमअन्तर्गत सङ्घीय सरकारको ६०, प्रदेश सरकारको ३० र स्थानीय सरकारको १० प्रतिशत सहभागिमा मात्रै अनुदान दिने व्यवस्था छ । सो नीतिअनुसार स्थानीय तहले प्रक्रिया पु¥याउन नसक्दा अनुदान उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

“असारको अन्तिममा बजेट आयो, फ्रिज नहुने बजेट हो”, उक्त कार्यालयका सूचना अधिकारी गणेश गौतमले भने, “प्राविधिकले अध्ययन गरेर सूची तयार पार्ने र एप्लिकेशनमा प्रविष्ट गर्ने काम गर्नुभएको छ, सोहीअनुसार अनुदानको कार्यक्रम अघि बढ्छ” ।

बडिगाड गाउँपालिकाका ३१ लाभग्राहीको भुक्तानी प्रक्रिया सुरु भएको छ । दुई पालिकाबाहेकका पालिकाका पीडितहरुको फाइल तयार गर्न स्थानीय तहले ढिलाइ गरेका कारण अनुदान रोकिएको उनले बताए । नगरपालिकाले पनि अनुदानका लागि एप्समार्फत भर्नुपर्ने विवरण भरेर फाइल तयार गरेको छैन । गत वर्ष भदौ १७ गते भुजीखोलामा आएको बाढी–पहिराबाट  २२ को मृत्यु र १५ जना बेपत्ता भएका थिए ।

यस्तै कैलालीको भजनी नगरपालिका–५ र ३ वडाको सीमा भएर बग्ने कान्द्रा नदीमा निर्माण थालिएको पुल एक दशकदेखि अलपत्र छ । पुल नबन्दा स्थानीयवासी जोखिम मोलेरै डुङ्गाबाट नदी तर्दै आएका छन् ।भजनी नगरपालिका, स्वास्थ्य चौकीलगायत स्थानमा आउजाउ गर्न डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नु परेको भजनी–५ लालबोझीका रतनराज रेग्मीले बताए । 

सो नदीमा एक दशकअघि निर्माण थालिएको पुल अलपत्र हुँदा बर्खायाममा नदीमा अत्यधिक बाढी आएका बखत आवतजावत नै बन्द हुने जानकारी दिँदै  उनले भने, “बाढीका कारण डुङ्गा नचल्दा  बिरामी र सुत्केरीलाई अस्पताल लैजान समस्या हुने गरेको छ ।” बर्खायामका तीन महिना बालबालिका, महिला र वृद्धवृद्धालाई नदी तर्न समस्या हुने गरेको छ । डुङ्गाको यात्रा जोखिमपूर्ण हुने भएकाले काम विशेषले नगरपालिकालगायत अन्य स्थानमा जाँदा बेलुकी घर नपुगेसम्म घरपरिवार  चिन्तित हुने गरेका उक्त नगरपालिका–५ का डम्मर जैसीले बताए ।

डुङ्गामा सो नदी तर्दा  एकपटकको रु १० र मोटरसाइकलसहित भए रु ३० शुल्क तोकिएको छ ।  हुलाकी राजमार्गअन्तर्गत भजनी–५ र ३ ठेकी जोड्ने उक्त नदीमा पुल निर्माणका लागि २०६८ साल जेठ ३१ मा निर्माण कम्पनी लामा–शाल्पा–शेर्पा–विरुवा जेभीसँग सम्झौता भएको थियो । तेस्रोपटक थपिएको अवधि सकिँदा पनि निर्माण कम्पनीले पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सम्पन्न गरेको जनाइएको छ । 

सय मिटर लामो र सात दशमलव दुई मिटर चौडो सो पुलको लागत रु चार करोड ४३ लाख रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया