कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि सेवा बन्द, १० शय्याको आइसोलेशन वार्ड निर्माण

४ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको हो । कार्यालयको नागरिकता शाखाका दुई कर्मचारीमा सङ्क्रमण पुष्टि भएको र  अन्य कर्मचारीमा पनि सामान्य लक्षण देखिएकाले परीक्षणका लागि तयारी भइरहेको उनले बताए।

निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयमा सेवाग्राहीको भीड बढ्दा जोखिम पनि बढेकाले  मङ्गलबार एक सूचना जारी गर्दै सेवा बन्द गरिएको र यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमा मागेको  जनाइएको छ । दैनिक १५ देखि २० वटासम्म नागरिकता लिने र सोही सङ्ख्यामा राहदानी लिन सेवाग्राही आउने गरेको निमित्त प्रजिअ खतिवडाले बताए ।

यसैगरी  मालपोत कार्यालयको पनि सेवा बन्द गरिएको छ । साउन २२ गते एक सूचना जारी गर्दै दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ३१ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको मालपोत अधिकृत पदम अर्यालले बताए ।

जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको दर बढेकाले जिल्ला अस्पतालमा अहिले बिरामीको चाप बढेको निमित्त प्रमुख शानी शेर्पाले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयको पछिल्लो जानकारीअनुसार अहिलेसम्म एक हजार ७०७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकामा  एक हजार ४६३ निको भएका र  १३को मृत्यु भएको छ ।

यस्तै  कोरोना सङ्क्रमण अझै फैलिएकाले डोटी जिल्ला अस्पतालमा १० शय्याको आइसोलेशन वार्ड निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त वार्ड निर्माण गरिएको हो ।

 जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटका अनुसार मन्त्रालयले उपलब्ध गराएको रु ४० लाखमध्ये  रु १८ लाखको लागतमा उक्त वार्ड निर्माण गरिएको र बाँकी रहेको रकमबाट अन्य आइसोलेशन वार्ड निर्माण गरिने छ । 

आइसोलेशन वार्ड उद्घाटन गर्दै सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कोरोना रोकमथाम र नियन्त्रणका लागि सम्पूर्ण तयारी भइरहेको बताए । यसअघि उक्त अस्पातलमा वार्ड अभावमा कोभिडका बिरामीको उपचारमा निकै समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । 

उनका अनुसार यहाँका नौवटै स्थानीय तहमा रहेका सरकारी अस्पतालमा पनि गाउँपालिकाको समन्वयमा थप वार्ड  निर्माण गरिने छ।

४ बर्ष अगाडि

प्रतिक्रिया