पत्रकार न्यौपानेको कोरोना कारण मृत्यु, दुर्घटनामा परी एक जनाको ज्यान गयो

४ बर्ष अगाडि

 झापाका पत्रकार राजु न्यौपानेको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।उनको मेची प्रादेशिक कोभिड अस्पतालमा उपचारकै क्रममा मङ्गलबार मृत्यु भएको हो । ५५ वर्षीय न्यौपानेलाई १० दिन अघि ज्वरो र रुखाखोकीले सताएपछि उपचारका लागि सोही अस्पतालमा लगिएको थियो । अस्पतालले उहाँलाई औषधि लिएर होम आइसोलेसनमा बस्ने सुझाव दिँदै फर्र्काइदिएको थियो । 

होम आइसोलेसनमा बस्दै आएका राजुको  स्वास्थ्य बिग्रिदै गएपछि उपचारका लागि पाँच दिनअघि विर्तामोडस्थित विर्तासिटी अस्पतालमा लगिएको थियो । अस्पतालले बिरामीको चाप बढी भएको र सघन उपचार कक्ष खाली नभएको जनाउँदै उनलाई विर्तामोडैमा रहेको बिएण्डसी अस्पताल लैजाने सुझाव दिएको थियो । 

बिएण्डसी अस्पताललेसमेत सघन उपचार कक्ष खाली नभएको जनाएपछि पुनः मेची प्रादेशिक कोडिभ अस्पतालमा राखेर उनको परिवारले उपचार गराइरहेको थियो । उपचारकै क्रममा उहाँको मङ्गलबार १२ बजे मृत्यु भएको परिवारले जनाएको छ ।  

स्थानीय देउनिया खोलामा उनको अन्त्येष्टि गरिएको छ । उनका दुई छोरा, एक छोरी र श्रीमती  छन् ।

सिरहामा ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सिरहाको धनगढीमाई नगरपालिका ७ गागनखोला नजिकै स.१त.५९३५ नम्बरको ट्याक्टर आज विहान पल्टिदा गोलबजार नगरपालिका १ निपाने का ३० वर्षीय अरुण यादवको मृत्यु हो ।

यादवले ट्याक्टरमा लेवरको रुपमा काम गर्दै आएको बताइएको छ । रातिको समयमा बालुबा लिन गएको बेला ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले बताएको छ । ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टर धनी दिनेश यादव दुवैजना फरार रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर दुर्घटनापछि ट्याक्टरमा रहेका सवै फरार भएका थिए । विहान स्थानीयले प्रहरीलाई खवर गरेको जनाएको छ ।

शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाउँदै प्रहरीले चालक र ट्याक्टरधनीको खोजी भइरहेको जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया