करेन्ट लागेर २ जनाको मृत्यु, १६ वर्षीया किशोरीको हत्याको आशङ्कामा ३ जना पक्राउ

४ बर्ष अगाडि

धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । 

मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको प्रहरीले जनाएको छ । दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

यस्तै त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ । यही साउन १३ गतेदेखि बेपत्ता भएकी कृशलाको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा विभत्स अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ । 

कृशलाको हत्या रहस्यमय रहेको र अनुसन्धान निकै जटिल भएका कारण अहिले प्रहरीले विभिन्न कोणबाट कडाइका साथ अनुसन्धान सुरु गरेको छ । कृशला हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

कृशलाका बुबा प्रेम चौधरीका अनुसार छोरी १३ गते जङ्गलमा घाँसदाउरा गर्न गएकी र सोही समयदेखि अचानक हराएकी थिइन् । खोजी गर्ने क्रममा साउन १९ गते स्थानीय राजदेवी सामुदायिक वनमा उनको बिभत्स अवस्थामा शव फेला परेको हो । जङ्गलमा घाँसदाउरा गर्न गएका बेला केही समूहले जबर्जस्ती करणी गरेर उनको विभत्स ढङ्गले हत्या गरेको हुनसक्ने मोहनपुरका स्थानीयवासी खगेन्द्र कटुवाल बताउछन् ।

प्रहरीका अनुसार कृशलाको शवको यौनाङ्ग क्षतविक्षत भएर डढेको, शरीरका धेरै भाग डढेर कालो भएको, दाँत भाँच्चिएको चिन्न नसक्ने अवस्थामा भेटिएको थियो । हत्याका विषयमा अहिले प्रहरीले गम्भीर ढङ्गबाट अनुसन्धान सुरु गरेका कारण केही समयभित्रै सत्यतथ्य बाहिर ल्याउन लागेको उदयपुर प्रहरीले बताएको छ ।

अहिलेसम्म अनुसन्धानका क्रममा तीन जनालाई पक्राउ गरिएको र आवश्यकतानुसार अन्य सबैको अनुसन्धान हुँदै जाने पनि प्रहरीले बताएको छ । कृशलाको हत्या विषयमा तथ्य कुरा र हत्यारा पत्ता लगाउन शव र शरीरका अन्य भागको समेत फोरेन्सिक परीक्षणका लागि स्वास्थ्य प्रयोगशाला पठाइएको प्रहरीले बताएको छ । 

हत्यामा संलग्न अरु चाँडै पक्राउ पर्ने र केही व्यक्तिलाई अनुसन्धान दायरामा ल्याइएका कारण हत्यारालाई पत्ता लगाएर कारवाही गरिछाड्ने उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले प्रतिबद्धता गरेका छन्। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया