सौगातका ५ फिल्म प्रदर्शनको पखाईमा, पाइपलाइनमा पनि उस्तै

४ बर्ष अगाडि

काठमाडौं,  कोरोना महामारीभन्दा अगाडि अभिनेता सौगात मल्ल फुर्सदमा कमै बस्न पाउँथे । एउटा फिल्मको छायांकन नसकिँदै उनी अर्को फिल्ममा अनुबन्ध भएको खबर मिडियामा आइसक्थ्यो । उनको हातमा २र३ वटा फिल्म टुट्दैन थिए । अफर आएका फिल्म अस्वीकार गर्ने उनको बानी थिएन र छैन । तर, कोरोना संक्रमणका कारण डेढ वर्षदेखि उनको दैनिकी घरभित्रै वितिरहेको छ । 
 
लकडाउन अन्त्य भएपछि उनी फिल्म ‘कबड्डी ४’ को छायांकनमा निस्कने तयारीमा थिए । तर, फिल्मको मुहुर्त भएको केही दिनमा नै कोरोनाको दोस्रो महामारीका कारण सरकारले छायांकनमा प्रतिबन्ध लगायो । अब यो फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ, निर्माण टिमलाई नै थाहा छैन । उनले लकडाउनअघि अभिनेत्री रेखा थापाको एक अनटाइटल प्रोजेक्ट पनि साइन गरेका थिए । 
 
लकडाउनपछि उनले निर्देशक आकाश अधिकारीको फिल्म साइन गरे । आइतवार उनी फेरि अर्को फिल्ममा अनुबन्ध भएका छन् । उनले फिल्म ‘एक्स ९’ साइन गरेका हुन् । उनी निर्देशक निश्चल बस्नेतको फिल्म ‘जिन्दावाद’ मा पनि काम गर्ने तयारीमा छन् । यसरी हेर्दा स्थिति सामान्य भएर फिल्मको छायांकन सुचारु भएपछि एक वर्षका लागि सौगातको सेड्युल ‘प्याक’ हुने देखिन्छ ।
 
उनको पाइपलाइनमा मात्र होइन, रिलिजको तयारीमा रहेका फिल्मको पनि कमी छैन । उनी अभिनीत ‘माइकल अधिकारी, लप्पन छप्पन २, मन्त्र, घनचक्कर, मासु भात’ फिल्म प्रदर्शनको पखाईमा रहेका छन् । फिल्म ‘लुट’ मा ‘हाकु काले’ को भूमिका निर्वाह गरेपछि एकाएक चम्किएका सौगात मल्लले पछिल्लो समय गुणस्तरीय फिल्मभन्दा संख्यात्मक अभिनयमा जोड दिएको देखिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया