गोपीकृष्ण र जय नेपाल हलले बुझाएन् सम्पत्ति कर, सम्पत्ति रोक्का राक्ने महानगरको सूचना

४ बर्ष अगाडि

काठमाडौं, काठमाडौंका दुई ठूला सिनेमा हल गोपीकृष्ण मुभिज र जय नेपालले घरजग्गा तथा सम्पत्ति कर नबुझाएको भन्दै काठमाडौं महानगरपालिकाले ३० दिने अल्टिमेटमसहितको सूचना जारी गरेको छ । 

केही समयदेखि पटक पटक वडा कार्यालयबाट पत्रचार गर्दा समेत कर नबुझाएको भन्दै महानगरपालिकाले गोपीकृष्ण र जय नेपाललाई कर नतिर्ने कम्पनीको सूचीमा राखेको हो । 
 
गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचनामा गोपीकृष्ण र जय नेपालले कहिलेसम्मको कर नतिरेको भन्ने चाहिँ उल्लेख छैन । सूचना प्रकाशित भएको तीस दिनभित्र महानगरपालिकाको राजश्व विभाग वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेर जरिवानासहित कर बुझाउन महानगरले आग्रह गरेको छ । अन्यथा सेवा बन्द गर्ने, सम्पत्ति रोक्का लगायतको कार्य गरिने सूचनामा भनिएको छ ।
 
कर नतिर्ने सूचीमा परेको जय नेपाल कोरोना महामारीपछि सधैंका लागि बन्द भइसकेको छ ।  त्यस्तै, काठमाडौंको चाबहिलमा रहेको गोपीकृष्ण हल पनि कोरोना महामारीपछि भत्काइएको छ । अब त्यहाँ पाँचतारे होटल, मल्टीप्लेक्स हलसहितको २५ तल्ले नयाँ भवन बनाइँदैछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया