बुटवल पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको ढुङ्गाले लाग्दा स्कर्पियो तिनाउ नदीमा खसेको छ । पाल्पाबाट बुटवल आउँदै गरेको बा १८ च ७३३६ नम्बरको स्कर्पियोलाई माथिबाट खसेको ढुङ्गाले लाग्दा उछिटिएर तल तिनाउमा पुगेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले घटनामा ४ जना घाइते भएको जानकारी दिए । स्कोर्पियो दुर्घटनामा पाल्पा तिनाउ गाउँपालिका–३ झुम्साका बाबुराम पाण्डेय गम्भीर घाइते भएका छन्। झुम्सा कै विनोद पाण्डे, अमित बस्याल र गङ्गा दराई घाइते भएका छन् । उनीहरू सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
राउटे बस्तीमा तीनको मृत्यु
कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो ।
एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए । सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए । दुबैको मृत्यु भएपछि परम्पराअनुसार दाहासंस्कार पनि गरिएको थियोे ।
परम्पराअनुसार मान्छे मर्दा ठाउँ सर्ने राउटे सोही गाउँपालिकाको काल्चेखोला नजिक सारेका हुन् । यसअघि गुर्भाकोट गाउँपालिकाको आँपसोतीमा रहँदा एक बालिकाको मृत्यु भएको थियो । तीनैजनको मृत्युपछि अहिले उनीहरूको संख्या १४० रहेको प्रहरी नायब उपरीक्षक थापाले उल्लेख गरे ।
मृत्युको खबर पाएपछि सुर्खेतस्थित जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेसहितको टोलीले सोमबार बस्तीमै पुगेर ५० जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो तर अन्य कतिपयले भने जचाउन आएका थिएनन् ।
“बस्तीमा पुग्दा धेरै बालबालिका कुपोषित भएको पाइयो । त्यो समुदायमा घाउचोट लागेका बिरामी धेरै रहेछन्”, उनले भने, “बालबालिकालाई जुकाको औषधि खुवायौँ । मदिरा, छाला र उच्च रक्तचापसम्बन्धी रोगी बढी थिए ।” जनस्वास्थ्य प्रमुख वाग्लेका अनुसार राउटेलाई सहयोग गर्दै आएको गैरसरकारी संस्था सोसेकको सहयोगमा केही औषधि उपलब्ध गराइएको र थप औषधि पछि पठाइनेछ ।
प्रतिक्रिया