ईपीएलको ट्रफी सार्वजनिक, मुख्य प्रायोजकमा बजाज पल्सर

४ बर्ष अगाडि

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को ट्रफी सार्वजनिक भएको छ । आयोजक ईपीएल प्रालिले सोमबार काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै उक्त ट्रफी सार्वजनिक गरेको हो ।

ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले सो ट्रफी सार्वजनिक गरेका हुन् । 

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुनेछ। आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने ईपीएलमा ललितपुर प्याट्रियट्स, काठमाडौँ किंग्स ११, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष आयोजना हुने भनिएको ईपीएलको कोरोना महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो । ईपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मान्यता प्रदान गरेको छ ।

ईपीएलमा नेपालका उत्कृष्ट खेलाडीका साथै विदेशीले समेत भाग लिने आयोजकले जनाएको छ । काठमाडौँ किंग्स ११ ले पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीलाई तथा चितवन टाइगर्सले पाकिस्तानकै डानिस अजिजलाई अनुबन्ध गरेको छ । 

यस्तै ईपीएललाई बजाज पल्सरले मुख्य प्रायोजन गरेको छ। सोमबार ईपीएल र बजाज पल्सरको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले मुख्य प्रायोजक सम्बन्धी सम्झौता गरेका हुन्। ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। 

४ बर्ष अगाडि

प्रतिक्रिया