साफ च्याम्पियनसिप माल्दिभ्समा हुने, नेपालसहित ५ राष्ट्रले प्रतिस्पर्धा गर्ने

४ बर्ष अगाडि

काठमाडौं - १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा हुने भएको छ । साफ कार्यकारी समितिको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ (असोज १५–२७) सम्म माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।

साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेका थिए । दुवै प्रस्तावलाई रिभ्यु गरेपछि माल्दिभ्सलाई आयोजक घोषणा गरिएको एन्फाले जनाएको छ । 

कोरोना महामारीका कारण अहिले नेपाल भन्दा माल्दिभ्सको अवस्था केही राम्रो रहेकाले माल्दिभ्समा आयोजना गर्न सहमति भएको बताइएको छ । माल्दिभ्स साफको साविक विजेता समेत हो ।

पछिल्लो पटक सन् २००८ मा माल्दिभ्स र श्रीलंकाले संयुक्त रुपमा साफ आयोजना गरेका थिए । नेपालमा यसअघि सन् १९९७ र २०१३ मा साफ आयोजना भएको थियो ।

यसअघि बंगलादेशमा साफ गर्ने तय भए पनि कोरोनाका कारण उसले हात झिकेको थियो । यस पटक साफमा ५ राष्ट्रले  प्रतिस्पर्धा गर्नेछन् । यस्तै भुटानले पनि सहभागिताबारे ३ दिनमा निर्णय गर्ने एन्फाले जनाएको छ । 

अहिलेसम्म नेपाल, माल्दिभ्स, भारत, बंगलादेश र श्रीलंकाले खेल्ने पक्का भएको छ । पाकिस्तान भने फिफाको प्रतिवन्धमा रहेकाले साफमा सहभागी हुने छैन ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया