काठमाडौं - मिर्गौला तस्करमा संलग्न भएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको भुम्लु गाउँपालिका–८ का कुमार परियार, कुमारकै भाइ शुरेस परियार तथा पाँचखाल– १० का कुमार परियार रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी गर्दै आएका तीनै जना नातेदार हुन् । कुमार र सुरेश दाजुभाइ र अर्का कुमार सुरेशको साढुभाइ रहेको खुलेको छ ।
पीडितको जाहेरीका आधारमा मिर्गौला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिए । बनेपा नगरपालिका वडा नं ५ का २८ बर्षिय पुरुषको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बनेपा नगरपालिका–५ का वडाध्यक्ष बलराम अधिकारीलाई सोही वडाका पीडित २८ वर्षीय एक युवकले आफ्नो मिर्गौला तस्करहरूले बिक्री गराएको जानकारी गराएपछि प्रहरीले घटनामा संलग्नहरूको खोजी शुरु गरेको थियो ।
भारतको कोलकत्तास्थित मुकुन्दपुरमा रहेको एमआरआई अस्पतालमा ५ लाख रुपियाँमा आफ्नो मिर्गौला बिक्री गरी २०७७ चैत्रमा ती युवक घर फर्किएका थिए । उनलाई दीपक श्रेष्ठ नामको नागरिकता दिलाएर दिदीको नाता लगाएर कल्पना श्रेष्ठलाई मिर्गौला दिन लगाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया