सवारी साधनको कर बढ्यो : सबैभन्दा बढी बाग्मती प्रदेशमा, अन्य प्रदेशमा कति ?

४ बर्ष अगाडि

काठमाडौं, मोटरसाइकलसहितका सवारीको कर बढेको छ । अधिकांश प्रदेश सरकारको मोटरसाइकलसहितका सवारीको करको दर बढाउँदा बाग्मती  प्रदेश सबैभन्दा महङ्गो कर लिने प्रदेश बनेको छ ।

पहिले केन्द्रीय सरकार हुँदा सामान्यतः ४/४ वर्षमा बढ्ने करको दर प्रदेश संरचनामा गएपछि वार्षिक वा २÷२ वर्षमा करको दरमा परिवर्तन भइरहेको छ ।

यसवर्ष बाग्मती प्रदेश सरकारले १० देखि ४५ प्रतिशतसम्म करको मूल्य बढाएको छ । बाग्मती प्रदेश सरकारले गत वर्षसम्म ४ हजार ५०० रुपैयाँ रहेको १६० सिसीको मोटरसाइकलको कर यस वर्षबाट बढाएर ६ हजार ५०० रुपैयाँ पुराएको छ । 

यसपटक सवारीसाधनको नामसारी गर्दा लाग्ने शुल्क बढेको छ भने ब्लु बुकको नवीकरण शुल्क पनि बढाइएको छ । त्यसैगरी बागमती प्रदेश सरकारले गत वर्षसम्म सनाखत गरेको पैसा नलाग्ने गरेकामा यस वर्षदेखि सनाखत गरेको पैसा पनि लिन थालेको छ ।

देशका सातवटै प्रदेश सरकारबाट जारी भएको आर्थिक ऐनलाई हेर्दा निजी मोटरसाइकलको कर बढी उठाउनेमा बाग्मती प्रदेश सरकार नै अगाडि रहेको देखिन्छ । बागमती प्रदेशमा ६५० सिसीभन्दा माथिको मोटरसाइकलको वार्षिक कर ३० हजार रहेको छ भने सुदूरपश्चिम प्रदेशमा मात्रै ९ हजार तिरे पुग्छ ।

त्यसैगरी १२५ सिसीभन्दा तलको मोटरसाइकलको कर अन्य प्रदेशमा २ हजार ५ सयको हाराहारीमा रहेकामा बागमती प्रदेशमा ३ हजार पुराइएको छ ।

त्यसैगरी, १५० सिसीको मोटरसाइकलको कर बाग्मती प्रदेशमा ५ हजार रुपैयाँ छ भने कर्णाली प्रदेशमा ४ हजार तिरे पुग्छ । त्यसैगरी कर्णाली प्रदेशमा ४ हजार रुपैयाँ तिरे पुग्ने १६० सिसीको मोटरसाइकलको कर बाग्मती प्रदेशमा भने ६ हजार ५०० तिर्नुपर्छ । त्यसैगरी कर्णाली प्रदेशमा ४ हजार नै तिरे पुग्ने २५० सिसीको मोटरसाइकलको कर बाग्मती प्रदेशमा भने ११ हजार तिर्नुपर्ने भएको छ । जबकि अधिकांश प्रदेशमा २५० सिसीको मोटरसाइकलको वार्षिक कर ६ हजार रुपैयाँभन्दा तल छ । तर बागमती प्रदेशले भने अन्य प्रदेशको तुलनामा दोब्बर कर असुली गरेको छ ।

अन्य प्रदेशले अधिकतम ३०० रुपैयाँ लिइरहेको नामसारीका लागि अबदेखि बाग्मती प्रदेशमा ५०० रुपैयाँ बुझाउनुपर्नेछ । यसअघि मोटरसाइकलको नामसारी गर्दा बागमती प्रदेश सरकारले २०० रुपैयाँ मात्रै लिने गरेको थियो ।

त्यसैगरी ब्लु बुक नवीकरणका लागि पनि बाग्मती प्रदेश सरकारले २ सय प्रतिशत बढाएको छ । यसअघि ब्लु बुक नवीकरणको वार्षिक शुल्क १ सय रुपैयाँ रहेकामा आर्थिक वर्ष २०७८÷७९ बाट भने ३०० रुपैयाँ लिने भएको छ ।

बाग्मती प्रदेश सरकारले मोटरसाइकलको सिसी अनुसार करको दरमा पनि व्यापक फेरबदल गरेको छ । गत वर्षसम्म १६० सिसीको मोटरसाइकलको वार्षिक कर ४ हजार ५०० रुपैयाँ लिने गरेकामा यस आर्थिक वर्षदेखि बढाएर ६ हजार ५०० पुराएको छ । १६० सिसीको मोटरसाइकलको कर एकै वर्षमा २ हजार रुपैयाँले बढेको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया