काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) मा माग भन्दा धेरै आवेदन परेको छ । निष्काशन बन्द हुने अन्तिम दिन आइतबार साँझसम्ममा कम्पनीको शेयरमा २४ लाख बढी आवेदन परेको हो ।
सानिमा लाइफको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २४ लाख १९ हजार १२७ वटा आवेदन परेको छ । उल्लेखित आवेदकहरुले ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयर माग गरेको क्यापिटलले जनाएको छ । यो सर्वसाधारणमा निष्काशित शेयरको ६.८४ गुणा बढी हो ।
आइतबारसम्मको प्रारम्भिक तथ्याङ्कका आधारमा हेर्दा कुल आवेदकको २२ प्रतिशतले मात्र शेयर प्राप्त गर्ने अवस्था देखिन्छ भने ७७ प्रतिशतको आवेदक खाली हुने देखिन्छ । आवेदकमध्ये १८ लाख ७९ हजार १२७ जनाले शेयर नपाउने देखिन्छ ।
कम्पनीले साउन २० गते बुधबार देखि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको कुल ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।
प्रतिक्रिया