काठमाडौं – प्रहरीले काठमाडौं उपत्यकामा चोरी र लुटपाटमा संलग्न भएको आरोपमा ७७ जनालाई पक्राउ गरेको छ । महनगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा पछिल्लो १५ दिनभित्र चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा ४ महिलासहित ७७ जनालाई पक्राउ गरेको हो, जसमा १ बच्चासहितकी आमा समेत पक्राउ परेकी छन् ।
काठमाडौंका सार्वजनिक सवारी साधनमा लुटपाट गर्नेदेखि विभिन्न सार्वजनिक स्थल र घर तथा आवासीय क्षेत्रमा समेत उनीहरुको संलग्नता रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए ।
उपत्यकामा चोरी र लुटपाटमा संलग्न उक्त गिरोहले २–२ जनाको दरले ६ जनाको समूह बनाई सार्वजनिक बसहरुमा यात्रारत यात्रुहरुबाट नगद, पैसा, गहना लुटपाट गर्ने गरेको समेत प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले पक्राउ पर्नेहरुबाट बरामद गरिएको ५ लाख ९६ हजार पीडितलाई आवश्यकता र व्यवहारिकताको आधारमा फिर्ता गरिसकेको छ । बरामद भएको १ लाख ६० हजार ७०० रुपैयाँ चोरीमा मुद्दा चलाई अदालतमा प्रमाणित गरी फिर्ता गर्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै दाङको घोराहीमा बस्ने धनीमान रोकामगरको न्युरोडबाट लुटिएको १ लाख ९ हजार पकेट मार्दामादै पक्राउ गरी प्रहरीले फिर्ता गरेको छ ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटप, सुनचाँदीका गहना, नक्कली पेस्तोल, चक्कुलगायतका सामानहरु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ ।
पहिलोपटक पकेट मार्नेलाई १ महिना जेल र सोही बराबर बिगो, दोस्रोपटक पकेट मारेको भेटिएमा २ महिना जेल र सोही बराबर बिगो कार्वाही हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया