२ कोरोना संक्रमितको मृत्यु, 'युनाइटेड मिसन टू'द्वारा ६ लाखको स्वास्थ्य सामग्री सहयाेग

४ बर्ष अगाडि

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा  गुलरिया नगरपालिका– ९ का ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका– २ का ५२ वर्षीय पुरुष रहेका जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र, बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । 

योसँगै कोरोना सङ्क्रमण भई अन्यत्र जिल्लाबाट बाँके आएका ३८३ को मृत्यु भएको छ । जिल्लाका अस्पतालमा कोरोना उपचारका लागि भर्ना हुने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पुनःबढ्दै गएको छ । 

सङ्क्रमण दर बढ्दै गएपछि  प्रशासनले भीडभाड नगर्न र स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न पुनःसचेत पारेको छ । परीक्षणको नतिजाबाट सङ्क्रमणको दर उच्च हुँदै गएको र अस्पतालमा पनि कोरोनाका बिरामीको चाप बढ्दै गएकाले रोकथाम र नियन्त्रणका लागि पूर्वसावधानी अपनाई सङ्क्रमणदर शून्यमा झार्न सबैको अह्म जिम्मेवारी र भूमिका रहेको  प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

जिल्लामा निषेधाज्ञा कायमै रहेको अवस्थामा विभिन्न व्यक्ति र समूहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी सार्वजनिक गतिविधिमा संलग्न हुने गर्दा जोखिम उच्च हुन गई सम्भावित तेस्रो लहरको प्रतिकार्यमा समेत बाधा पुग्न जाने भएकाले तत्काल त्यस्ता गतिविधि नगर्न र नगराउन सचेत पारिएको जनाइएको छ । 


यस्तै युनाइटेड मिसन टू नेपालले जोरायल गाउँपालिकालाई कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाका अनुसार उक्त संस्थाले रु छ लाख १२ हजार तीन सय सातको सामग्री आज हस्तान्तरण गरेको हो । ती स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, स्यानिटाइजर, ग्लोब्स, डस्टबिन, भरिएका अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री रहेको उपाध्यक्ष जमुना बोहराले जानकारी दिए ।

उनले भने, “गाउँपालिकामा कोरोना जोखिम कायमै  छ । उपलब्ध स्वास्थ्य सामग्रीले कोरोना नियन्त्रणमा सहज हुने छ । ” सस्थाका कार्यक्रम अधिकृत हेमराज जोशीले जिल्लाका अन्य स्थानीय तहमा आवश्यक परेका समयमा स्वास्थ्य सामग्री प्रदान गर्ने तयारी भइरहेको  जानकारी दिए । 

गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द विष्टले भने, “सरकारबाट प्राप्त हुने स्वास्थ्य सामग्रीले यहाँका स्वास्थ्य संस्थालाई सामग्री केही अपुग हुँदै आएको थियो, युनाइटेड मिसन टू नेपालले थप स्वास्थ्य सामग्री सहयोग गरेपछि अब निकै सहज हुने भएको छ ।” संस्थाले वितरण गरेका स्वास्थ्य सामग्रीहरु पालिकाका ६ वटै स्वास्थ्य संस्थामा वितरण गरिने उनले जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया