भ्यान पल्टिँदा एक युवकको मृत्यु, पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई पाँच लाख

४ बर्ष अगाडि

तनहुँको ऋषिङ गाउँपालिकामा गत असार २४ गतेको पहिराबाट ज्यान गुमाउने दुई जनाको परिवारलाई सङ्घ र प्रदेश सरकारका तर्फबाट राहत वितरण गरिएको छ । वडा नं ७ की ५० वर्षीया देवीसरा थापा र  वडा नं ८ का ४२ वर्षीय खुमबहादुर थापाको परिवारलाई राहत वितरण गरिएको हो । 

दुवै पीडित परिवारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घ सरकारका तर्फबाट जनही रु दुई लाख र प्रदेश सरकारका तर्फबाट जनही रु ५० हजारका दरले राहत रकम प्रदान गरेका छन् । सोक्रममा मुख्यमन्त्री पोखरेलले सरकार जनताको अभिभावक भएकाले पीडामा मलम लगाउन राहत रकम प्रदान गरिएको बताए। 

उनले गाउँपालिकाका विभिन्न ठाउँमा बाढीपहिराले सडकमा पु¥याएको क्षतिको समेत अवलोकन गरेका छन्  । बाढीपहिराले भत्किएका सडक मर्मतका लागि प्रदेश सरकारले तत्काल रु २५ लाख उपलब्ध गराएको थियो । 

बाढीपहिराले सो गाउँपालिकाका थुप्रै घरमा क्षति पुगेको छ । घर क्षति भएकालाई पुनःस्थापनाका लागि प्रतिघर रु चार लाख उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे । 

यस्तै सर्लाहीको लालबन्दीमा शुक्रवार दिउँसो फुटबल खेलाडी बोकेको पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ भने २८ जना भन्दा बढी घाईते भएका छन्।

फुटबल खेल्नका लागि खेलाडी बोकेर लालबन्दी १६ परवानिपुरतर्फ जादैं गरेको प्रदेश–२–०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौर अगाडि दुर्घटनामा परेको हो । करिब ४ बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिएका छन् । 

दुर्घटनामा परेर लालबन्दी नगरपालिका–९, बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहालको मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताएका छन् । 

दुर्घटनामा परेर गम्भिर घाईते भएका दाहालको उपचारका क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना हुने पिकअप प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार छन् । घाईते भएकाहरुको अहिले सम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया