काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग लत्रेर, झुकेर र अपमानपूर्वक ढंगले एकता हुन नसक्ने प्रष्ट पारेका छन् ।
आफू पक्षीय केन्द्रीय कमिटीको काठमाडौंमा दुई दिनसम्म बसेको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफू एकताविरोधी नभएको र सम्मानजनक एकताका लागि आफू सधैं तयार रहे पनि अध्यक्ष ओलीले नै एकताको वातावरण बिगार्दै गएकाले अपमानजक एकता नहुने प्रष्ट पारेका हुन् ।
नेता नेपालले अहिलेसम्म एकताका लागि भएका छलफल, राजनीतिक घटनाक्रम र आफ्नो अडानबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराउँदै केही विषयमा सहमति भएपनि केही विषय अझै मिल्न बाँकी रहेको बताएका थिए ।
बैठकमा नरम रुपमा प्रस्तुत भएका नेता नेपालले नेपालको कम्युनिस्ट आन्दोलन इतिहासमै सबैभन्दा संकटकमा रहेको र एमाले केन्द्रदेखि वडा तह सम्म विभाजित भएको अवस्थामा पुगेको बताएका थिए ।
उनले एमाले एकताका लागि निर्णायक ढंगले प्रयत्नहरु गनुपर्ने भन्दै विघटित कार्यदलका नेताहरुलाई पनि एकता छिटो टुंगो लगाउन भनेको बताएका थिए ।
शुक्रबार सकिएको माधव समूहको बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । यसका लागि केपी ओली पक्षले साउनन २४ गते आइतबार बोलाएको केन्द्रीय कमिटीको बैठक स्थगित गर्नुपर्ने, सदस्यता नवीरकण अभियान रोक्नुपर्ने र वडा तथा गाउँ अधिवेशनका साथै विधान अधिवशेन पनि रोक्नुपर्ने माधव नेपाल पक्षले माग गरेको छ ।
त्यसैगरी बैठकले संसद पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको छ । १० बुँदे सहमतिपछि कार्यदलले एकताको पहल गरिरहेको भन्दै यसवीचमा एकअर्कामाथि गालीगलौचको भाषा प्रयोग नगर्न माधव समूहको बैठकले माग गरेको छ ।
एकताको पहलका लागि केन्द्रीय कमिटीले स्थायी कमिटीलाई म्यान्न्डेटसमेत दिएको छ ।
प्रतिक्रिया