स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए ।
उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पु¥याइएको छ । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरि १४९ पु¥याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।
सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको हो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।
यस्तै जापानबाट कोरोना भाइरसबिरुद्धको ४ लाख डोज आज नेपाल आइपुग्ने भएको छ । कोभ्याक्स सुविधामार्फत जापानले दिन लागेको १६ लाखमध्ये ४ लाख डोज एष्ट्राजेनेका खोप नेपाल आइपुग्ने भएको हो ।
त्यस्तैगरी भोलि पनि ४ लाख खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘आज र भोलिमा जापानबाट ८ लाख डोज एष्ट्राजेनेका खोप नेपाल आइपुग्छ । जसमा आज ४ लाख डोज र भोलि ४ लाख डोज आउछ’ – मन्त्रालयले स्रोतले भन्यो।
बाँकी ८ लाख डोज खोप भने अर्को साता मात्रै आइपुग्ने मन्त्रालयको भनाइ छ । यो खोप कोभिसिल्डको पहिलो डोज लगाएका १३ लाख ज्येष्ठ नागरिकलाई दिइने मन्त्रालयले जनाएको छ ।
उनीहरुले चैतमै पहिलो डोज लगाएपनि दोस्रो डोज लगाउन पाएका छैनन । हिजो मात्रै भूटानले पनि नेपाललाई ३ लाख डोज एष्ट्राजेनेका खोप उपलब्ध गराएको थियो।
प्रतिक्रिया