बार्सिलोनाका अध्यक्षले भने : मेस्सी पुनः फर्किन सक्ने झुटो आशा दिन चाहन्नँ, १० नम्बर जर्सी छाड्न तयार नेयरमार !

४ बर्ष अगाडि

एजेन्सी - बार्सिलोनाले स्टार खेलाडी लियोनेल मेस्सीलाई क्लबमा नै राख्न चाहेको भए क्लबको भविष्य आगामी ५० वर्षसम्मका लागि जोखिममा हुने अध्यक्ष जोआन लापोर्टाले स्पष्टीकरण दिएका छन् । 

ला लिगाको तलबको सीमाका कारण बार्सिलोनाले नयाँ करार दिन नसकेपछि ३४ वर्षीय खेलाडीले क्लब छाड्ने भएका छन् । एउटा निजी कम्पनीले ला लिगामा लगानी गर्न चाहेको थियो । 

यदि त्यो सफल भएको भए बार्सिलोनाले मेस्सीलाई अनुबन्ध गर्न सक्ने थियो । तर, यसको बदलामा बार्सिलोनाले टिभीको केही अधिकार गुमाउनुपर्ने थियो । ‘क्लबलाई ५० वर्षसम्म असर गर्ने निर्णय म लिन सक्दिनँ,’ लापोर्टाले भने, ‘यो क्लब १ सय वर्ष पुरानो छ । यो सबैभन्दा, सबै कुराभन्दा, विश्वकै उत्कृष्ट खेलाडीभन्दा पनि माथि छ । हामी उनले हाम्रा लागि गरेको हरेक कुराका लागि धन्यवाद दिन चाहन्छौँ ।’

बार्सिलोनाका सर्वकालिन गोलकर्ता रहेका मेस्सी र बार्सिलोनाबीच तलब घटाएर आगामी पाँच वर्ष करार गर्ने सहमति भएको थियो । तर, त्यसका लागि पनि क्लबले खेलाडीहरूको तलबलाई अझै घटाउनुपर्ने थियो । तर, बार्सिलोनाले त्यसो गर्न सकेन ।

‘लियो यहाँ बस्न चाहन्थे । त्यसैले उनी खुसी छैनन्,’ लापोर्टाले भने, ‘हामी सबै उनी बसोस् भन्ने चाहन्थ्यौँ । तर वास्तविकतालाई हामीले सामना गर्नुपर्छ । उनीलाई थाहा छ उनी जहाँ गए पनि म उनको सफलताको कामना गर्नेछु ।’

लापोर्टाले मेस्सी पुनः फर्किन सक्ने ‘झुटो आशा’ दिन नचाहने बताउँदै ‘छलफल समाप्त’ भएको जिकिर गरे । पेरिस सेन्ट जर्मेनले मेस्सीलाई अनुबन्ध गर्नका लागि छलफल सुरु गरिसकेको छ ।

बार्सिलोनामा रहँदा मेस्सीले क्लबका लागि ६७२ गोल गरे भने १० वटा ला लिगाको उपाधिको साथै चारवटा च्याम्पियन्स लिग र ७ वटा कोपा डेल रेको उपाधि पनि जितेका थिए । उनी ६ पटक बालोन डि’ओर विजेता पनि बने ।

साथै बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएका मेस्सी पीएसजीमा जान सक्ने चर्चा भइरहेको छ । यसै बिच ब्राजिलियन स्टार एवं पेरिस सेन्टर जर्मेन ९पीएसजी०का फरवार्ड नेयमारले लियोनल मेस्सीका लागि १० नम्बर जर्सी छाड्ने भएका छन् ।

अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजी आएमा १० नम्बरको जर्सी दिन तयार रहेको नेयमारले क्लबमा प्रस्ताव गरेको गेट फ्रेन्च फुटबल न्युजले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया