काठमाडौं, अभिनेता सलिनमान बनियाँसँग जोडी बाँधेर फिल्म ‘यात्रा’ बाट मलिका महत अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसपछि उनले खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानी फोटो’ मा काम गरिन्, जुन प्रदर्शनको पखाईमा छ ।
फिल्ममा काम गरेर पनि चर्चामा आउन नसकेकी मलिकालाई लकडाउनमा सार्वजनिक भएको ‘फूलबुट्टे साडी’ गीतले एकाएक लाइमलाइटमा ल्यायो । साथै, उनको जोडी पल शाहसँग दर्शकले निकै रुचाए । यसपछि उनले पुनः पलसँगै ‘टाढा भएपनि’ गीतमा अभिनय गरिन् । यो गीतले पनि उनको लोकप्रियता चुल्याउन मद्दत गर्यो । अहिले उनको म्यूजिक भिडियोमा ‘हाइ डिमान्ड’ छ ।
म्यूजिक भिडियोबाट दर्शकको ठूलो वर्गमा चिनिएकी मलिकाले लकडाउनयता प्रतिष्ठित ब्यानरबाट फिल्म अफर पाइरहेकी छन् । गोपीकृष्ण मुभिजले डेढ दशक अगाडिको सुपरहिट फिल्म ‘पर्खि बसेँ’ को सिक्वेलमा मुख्य नायिकाको प्रस्ताव उनैलाई गरेको छ । फिल्ममा उनको जोडी पल शाहसँग बाध्ने तयारीमा गोपीकृष्ण छ । तर, पल र मलिकाले यो फिल्म साइन भने गरिसकेका छैनन् ।
मलिकालाई सुपरहिट फिल्म ‘नाईं नभन्नू ल’ को छैठौं सिरिजबाट पनि मुख्य नायिकाको प्रस्ताव आएको छ । यो कुरा उनी स्वयंले खुलाएकी हुन् । बिहीवार आफू अभिनीत ‘तिम्रो माया’ गीतको सार्वजनिक कार्यक्रममा उनले ‘नाईं नभन्नू ल ६’ बाट अफर आएको भए पनि कागजी सम्झौता नभइसकेको बताइन् । आफू दुवै फिल्मको टिमसँग निरन्तर छलफलमा रहेको उनको भनाई छ ।
प्रतिक्रिया