भुटान सरकारले दिएको कोरोनाभाइरस विरुद्धको एस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ । भुटान सरकारले नेपाललाई सहयोग स्वरूप एस्ट्रजेनेकाको तीन लाख मात्रा खोप उपलब्ध गराएको हो । भुटानको थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान विहान ९ः४० बजे काठमाडौँ आइपुगेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए ।
भुटानबाट नेपालले प्राप्त गरेको एस्ट्राजेनेका खोप अब कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका नागरिकको प्राथमिकतामा पार्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका १३ लाख ३८ हजार बढी नागरिक छन् ।
यस्तै काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन केन्द्रको व्यवस्था गरिएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
निर्धारण गरिएका सबै केन्द्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाइने छ । खोप आगामी आइतबारसम्म सञ्चालन हुनेछ ।यसअघि महानगरले १२ खोप केन्द्रमार्फत असार २९ देखि ३१ गतेसम्म खोप उपलब्ध गराएको थियो । पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएकाले भीड कम गर्न सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको हो ।
अहिलेसम्म महानगरका ७२ हजार ६४४ जना कोरोनाबाट सङ्क्रमित भएकामा ६८ हजार ७७१ निको भएका ५१०को मृत्यु भएको छ । यहाँ तीन हजार ३६३ जना सक्रिय सङ्क्रमित छन् ।
प्रतिक्रिया