काठमाडौं - मध्यभोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आयोजना प्रभावित र जिल्लाबासी दुबैतर्फबाट मागभन्दा बढीको आवेदन परेको छ ।
यसअघि साउन १७ गतेभित्र आयोजना प्रभावित क्षेत्रबाट कम आवेदन परेपछि समय बढाइएकोमा बुधबारसम्म दुबैतर्फ ओभर सब्सक्राइब भएको हो ।
मध्य भोटेकोशीको स्थानीयमा जारी आईपीओमा साउन २० गते बुधबारसम्म कुल ७२ हजार ४५५ वटा आवदन परेको छ ।
जसमध्ये आयोजना प्रभावितहरुबाट ७ हजार ४३१ वटा र सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुबाट ६५ हजार २४ वटा आवेदन परेको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बुधबारसम्म कुल १ अर्ब ५२ करोड ९० लाख ३५ हजार ९०० रुपैयाँ बराबरको १ करोड ५२ लाख ९० हजार ३५९ कित्ता शेयरका लागि आवेदन दिएका छन् ।
जसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट ७ हजार ४३१ वटा आवेदनबाट १८ लाख ८७ हजार ९११ कित्ता शेयर माग भएको छ । यो आयोजना प्रभावितका लागि जारी शेयरभन्दा ८७ हजार ९११ कित्ता बढी माग हो ।
सिन्धुपालचोकका भोटेकोशी गाँउपालिका वडा नं १ र ५, बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ मा स्थायी बसोबास गर्ने आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि स्थानीयमा जारी ६० लाख कित्ताको ३० प्रतिशतले हुने १८ लाख कित्ता शेयर निष्काशन गरिएको थियो ।
प्रतिक्रिया