ओली नेतृत्वको सरकारले गरेको निर्णय राष्ट्रघाती र जनता विरोधी भएको भन्दै खारेजको माग

४ बर्ष अगाडि

काठमाडौं - नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको झापाको गिरिबन्धु टि स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने निर्णय राष्ट्रघाती र जनता विरोधी भएको भन्दै उक्त निर्णय खारेजको माग गरेका छन् । 

उनले जग्गा सट्टा गर्ने नाममा नीतिगत भ्रष्टाचार गरी भू–माफिया र दलाललाई पोस्ने काम ओली सरकारले गरेकाले भन्दै तत्काल सो  निर्णय खारेको माग गरेका हुन् ।

ओली सरकारले असार २४ गतेको मन्त्रिपरिषद् बैठकबाट गिरिबन्धु टि स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने निर्णय गरेको थियो ।

प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै आङ्बोले यो निर्णयले ठूलो राष्ट्रघात भएको  र केही दलाल र विचौलियालाई राज्यको सम्पत्ति सुम्पने काम ओली सरकारले गरेको दाबी समेत गरे । 

नेपालमा १६९ वटा कम्पनीले हदबन्दीभन्दा बढी जग्गा राखेको तथ्याङ्क प्रस्तुत गर्दै आङ्बोले ९४ वटा कम्पनीले भूमि व्यवस्था मन्त्रालयमा जग्गा सट्टाको निवेदन दिएको जानकारी दिए । 

आङ्बोले केही सञ्चार उद्यमी पनि उक्त जग्गा हडप्ने कार्यमा लागेको आरोप लगाउँदै समाचारको खोजी गरि सत्यतथ्य ल्याउन पत्रकारहरुसँग आग्रह पनि गरे ।

४ बर्ष अगाडि

प्रतिक्रिया