बागलुङ बजारको अदालत चौपारी, कम्पुटोल र नारायण चोकका एक दर्जनभन्दा बढी घर पहिराको जोखिममा परेका छन् । बागलुङ नगरपालिका–३ कैलाम पोखरीको वन हुँदै अदालत चौपारीसम्म पुग्ने सडकखण्ड पहिराले बगाएकाले २० दिनदेखि बन्द छ ।
तलबाट पहिरो खस्दै गएकाले सडकका साथै बजार छेउकै दर्जनभन्दा बढी घर जोखिममा परेको त्यहाँका बासिन्दा बताउछन् । निरन्तरको वर्षा र बस्तीमुनिको बगालुङ नगर खानेपानी लिफ्ट आयोजना निर्माणाकै अवस्थामा रहेकाले निरन्तर सडक भासिने र पहिरो जाने गरेको स्थानीयवासी पुष्पा केसीले बताइन् ।
बागलुङ नगर खानेपानी उपभोक्ता संस्था र खानेपानी तथा ढल व्यवस्थापन विभागको संयुक्त लगानीमा तीन वर्षदेखि निर्माण भइरहेको सो आयोजना अपुरै रहँदा कम्पुटोल, देउराली चोक तथा नारायण चोकका घर गत वर्षदेखि पहिरोको जोखिममा पर्दै आएका हुन् । कम्पुटोलका नौ घर गतवर्ष नै बर्खाको समयमा विस्थापित भइसकेका थिए भने देउराली चोकका पाँच घरका बासिन्दा पनि घर छोडेर अन्यत्रै बस्न गएका छन् ।
अहिले पुनः अदालत चौपारीदेखि कम्पुटोल जाने पछाडितिरको सडक नै भासिएकाले पुनः एक दर्जन घर जुनसुकै बेला भत्कने अवस्थामा पुगेको छ । कमजोर भू बनोट भएका स्थानमा सचेतता र सुरक्षाबिना खानेपानी आयोजना निर्माण गरिएका कारण यस्तो भएको जनाइएको छ ।
यस्तै सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । लगातारको वर्षाले पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।
भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाएपछि आजदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाले जानकारी दिए । उनले भने,“पर्खाल निर्माण सम्पन्न भएपछि राजमार्गमा पूर्ण रुपमा सवारी आवागमन शुरु भएको छ ।” राजमार्ग खुलेसँगै बझाङ जाने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारीसाधन चलेका छन् ।
प्रतिक्रिया