चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैँडा मृत फेला परेको छ । निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा पर्ने नमूना मध्यवर्ती सामुदायिक वनमा मृतावस्थामा पोथी गैँडा फेला परेको हो ।
सो सामुदायिक वनको पश्चिमतर्फको गेटमा करिब ३०–३५ वर्षको पोथी गैँडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । मृता गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीको भनाइ छ । मृत गैँडाको प्रकृति हेर्दा रोगी र कमजोर देखिएको तथा वनमा लगाइएको झट्का दिने करेन्टमा परी लडेर मरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको अधिकारीले जानकारी दिए । नवलपुरमा बुधबार भेटिएको मृत गैँडासँगै चालु आव २०७८र७९ मा चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मरेका छन् ।
यस्तै नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोङ्गबु विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शाङ्का लागी पिछा गर्दा आरके रेष्टुराँमा लुकेर बसेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकासँग प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ । पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताए।
प्रतिक्रिया