केही दिनदेखि परेको अविरल वर्षाले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित तुम्कोट गाउँमा पहिरो गएको छ । तुम्कोटमा गाउँमाथि आएको पहिरोले सिँचाइ, खानेपानी र होटेल बगाएको छ । मङ्गलबार राति २ बजे आएको आएको भीषण वर्षापछिको बाढी पहिरोले तुम्कोट गाउँमा नजिकैको खेतबारी, होटेल, सिँचाइ कुलो र खानेपानीको पाइप बगाएको हो ।
भीषण वर्षाले माथिबाट पहिरो आउँदा ५०० मिटर लामो खोलामा बनाइएको कुलो बगाएको छ भने अन्य ठाउँमा कुलो क्षतविक्षत बनाएको छ । पहिरोले कुलो बगाउँदा ५०० रोपनी खेतबारी र बाँझो जग्गासमेत नरहेको तुम्कोट गाउँ निवासी छेम्जोक दोर्जे लामा जानकारी दिए । उनका अनुसार धेरै समय अगाडि बनाएको सिँचाइ कुलो अहिलेसम्म केही पनि भएको थिएन । एक्कासि ठूलो पानीसँगै पहिरो आउँदा मुहानमा रहेको पाइपसमेत बगाउँदा खानेपानीको समस्या भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि खोलिएको होटलसमेत बाढीपहिरोले बगाएको स्थानीयवासी लेण्डो मिग्युर लामा बताए । खेतबारीमा लगाएको अन्नबाली बगाएको तुम्कोट गाउँका हिसे पाल्मो लामाले बताए । गाउँनै भोकमरी पर्ने सक्ने भन्दै त्यसका लागि सक्दो पहल गरिने नेपाल रेडक्रस शाखा हुम्लाका मन्त्री तथा नेपाल अस्ट्रिया साझेदारी संस्थाका संयोजनक छेपाल दोर्जे लामाले बताए
यस्तै जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।
बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । उनले भने, “जङ्गली बँदेल मार्नका लागि मकैबारीमा करेन्ट छाडिएको रहेछ, उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने बुझिएको छ ।” करेन्ट लाग्ने बित्तिकै दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै सहोदर दाजुभाइ हुन् ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ । जिल्लाका सबैजसो स्थानमा लगाइएको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेकाले किसानलाई मकैबाली जोगाउन धौधौ परेको छ ।
प्रतिक्रिया