नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, देउवा नेतृत्वको सरकारमा जाने कि नजाने बारे छलफल

४ बर्ष अगाडि

काठमाडौं - एमाले वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक बस्न लागेको हो । 

हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो ।नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने स्पष्ट रोडम्याप नदिँदा अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । 

आजको बैठक यही विषयमा केन्द्रित हुने बताइएको छ । नेपाल पक्षको सरकारमा सहभागिताबारे अन्तिम निर्णय नआएकाले कार्यदलले सरकार सञ्चालन सम्बन्धी न्युनतम साझा कार्यक्रमसमेत टुंगो लगाउन सकेको छैन ।

साथै बैठकमा पार्टी विवादबारे पनि छलफल हुने बताइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले एकताका लागि नेपाल पक्षलाई बेला बेला आह्वान गरे पनि सोमवारको स्थायी कमिटिमा गठन गरेका विभागमा नेपाल पक्षलाई समेटेनन् ।

सोमवार एमालेको स्थायी कमिटीको बैठकले विभिन्न ९ विभाग गठन गरेको थियो । वरिष्ठ नेता नेपाल पक्ष अनुपस्थित बैठकमा अध्यक्ष ओलीले विभिन्न विभाग गठनको निर्णय गरेका हुन् ।

तर, आजको बैठकबारे अध्यक्ष केपी शर्मा ओलीले भने आपत्ति जनाएका छन् । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बुधवार साँझ एक वक्तव्य जारी गर्दै नेपाल पक्षले डाकेको केन्द्रीय कमिटीप्रति आपत्ति जनाएका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया