साढे दुई सय कर्मचारी निकाल्दै उदयपुर सिमेन्ट

४ बर्ष अगाडि

उदयपुर —  पूर्ण सरकारी स्वामित्वमा सञ्चालित मुलुककै ठूलो सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योगले दुई सयभन्दा बढी कर्मचारी कटौती गर्ने भएको छ ।

अहिलेकै दरबन्दीअनुसार कार्यभार तथा उत्तरदायित्व निर्वाह गर्न असहज बन्दै गएपछि उद्याेगले २ सय ५५ कर्मचारी कटौती गर्न लागेको हो । 

उद्योग सञ्चालनमा आएसँगै ६ सय १३ स्वीकृत दरबन्दी रहेकाे भएपनि बाह्य स्रोतबाट ७२ सुरक्षाकर्मी र १ सय ३ अन्य कामदार गरी ७ सय ८८ जना कामदार र कर्मचारी भर्ना गरिएकाे थियाे । सुरुको स्वीकृत दरबन्दी नै धेरै भएको अवस्थामा थपिएको समेत गरेर २ सय ५५ जना जनशक्ति बढी भएकाले कटौती गरिने उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए ।

मौजुदा दरबन्दी तथा संगठन तालिकाअनुसार कार्यभार तथा उत्तरदायित्व निर्वाह गर्न असहज बन्दै गएपछि उद्योग सञ्चालक समितिका विज्ञ सदस्य देवीप्रसाद बरालको संयोजकत्वमा गठित समितिले उद्योग व्यवस्थापन, ट्रेड युनियन र सरोकारवालाको सुझाव लिई उद्योगलाई चाहिने वास्तविक जनशक्तिको संख्यासहित सिफारिस गरेको छ । 

समितिले सिफारिस गरेको नयाँ संगठनात्मक ढाँचाबमोजिम उद्योग सञ्चालनका लागि प्राविधिक र अप्राविधिक गरी ५ सय ३३ जना जनशक्ति आवश्यक पर्ने उल्लेख गरिएको छ ।

उद्योगमा कार्यरत कर्मचारी उमेर हद, मृत्यु तथा राजीनामालगायत कारणबाट सेवा निवृत्त हुँदै छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया