काठमाडौं । बहुचर्चित राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजना पछिल्लो चरण चर्चामा छ । तीन दशकदेखि निर्माणाधिन यस आयोजना सम्पन्न हुने अन्तिम चरणमा पनि अन्योय सृजना भएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।
सुरुङ निर्माण गरेर काठमाडौंमा पानी ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सिएमसि दि रेभन्ना) का कर्मचारी स्वदेश फर्कने क्रममा पक्राउ परेको विषयले मेलम्चीको चर्चा झन चुलिएको हो ।
क्रिष्मस मनाउन जाने भन्दै स्वदेश फर्कन लागेका कम्पनीका म्यानेजर क्रिस्टिनयानो क्रुजोसहित आठ अधिकारीलाई आईतबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै रोकेर राहदानी जफत गरिएको थियो । त्यसपछि ठेकेदार र आयोजनाबीचको चुलिएको विवाद सबै सामु छताछुल्ल हुन पुग्यो । सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिए पनि चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सिएमसीलाई ठेक्का दिएको थियो ।
तीन वर्षभित्र सम्पन्न गरिसक्नेगरी सात अर्ब ७२ करोड लागतमा २०७० असार ३१ गते सम्झौता भएको थियो । तर तोकिएको समयभित्र बन्नुको साटो पटक– पटक आयोजना सम्पन्न भएर पानी काठमाडौं आईपुग्ने भाका तोकिए पनि त्यो भाकामै सीमित छ ।
पछिल्लो विवादसँगै मेलम्ची आयोजना अन्यौलमा परेको छ । अहिले लागत रकम बढेर ११ अर्ब पुगिसकेको छ भने ठेकेदार कम्पनीले मात्रै ९ अर्ब रुपियाँ लगिसकेको आयोजनाले जनाएको छ ।
२०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्प र नाकाबन्दीले काम प्रभावित भएको भन्दै ठेकेदार कम्पनीले सरकारसँग क्षतिपूर्ति मागेसँगै सुरु भएको विवादको कारण आयोजना नै अन्तिम चरणमा अल्योलमा बनेको छ ।
प्रतिक्रिया