मिस्त्रीखोला जलविद्युत्ः फुलफेजमा विद्युत् उत्पादन भएन, विद्युत् सर्ट हुँदा घर जलेर नष्ट

४ बर्ष अगाडि

गत असार ३ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्मित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाले प्रसारण क्षमताको अभावमा अझै पनि ‘फुलफेज’मा विद्युत् उत्पादन गर्न पाएको छैन ।

‘हाइड्रो हव’ का रूपमा विकसित हुँदै गरेको नारच्याङमा निर्माण गरिएको सो आयोजनाको पूर्ण उत्पादन ९४२ मेगावाट नै० क्षमता भए पनि विद्युत् प्राधिकरणको प्रसारण क्षमता नहुँदा पूर्णरूपमा व्यावसायिक उत्पादन गर्न नसकेको जनाइएको छ । आयोजनाका अनुसार विद्युत् प्राधिकरण लोडसेन्टरको माग दैनिक २८ देखि ३० मेगावाट मात्र रहेकाले सोही अनुपातमा विद्युत् उत्पादन गरी ग्रीडमा पठाइएको छ । ४२ मेगावाट उत्पादन क्षमता भए पनि विद्युत् प्राधिकरणको प्रसारण क्षमता नहुँदा नोक्सानी व्यहोर्न आयोजना बाध्य भएको आयोजनाका कन्स्ट्रक्शन म्यानेजर चुडामणि निरौलाले बताए ।

“हामीले गत जेठ १५ गतेबाट विद्युत् उत्पादन गरी ग्रीडमा पठायौँ र असार ३ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन शुरु ग¥यौँ”, आयोजनाका म्यानेजर निरौलाले भने, “प्राधिकरणको प्राविधिक कारणले लोड सेन्टरको मागअनुसार अहिले सरदर ३० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ ।” 

मिस्त्रीखोलाबाट उत्पादित विद्युत् अन्नपूर्ण गाउँपालिका–३ दानास्थित कालीगण्डकी करिडोर २२० केभिए प्रसारण लाइनको सबस्टेशनमा जोडिएको छ । यो प्रसारण लाइन पूरा भएको छैन ।  पर्वत–बुटवल खण्डमा प्रसारण लाइनको काम जारी नै रहेको छ । प्रसारण लाइनको सम्पूर्ण काम पूरा नभएसम्म नारच्याङमा निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेका  जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न नसकिने आयोजनाका कन्स्ट्रक्शन म्यानेजर न्यौपानेको भनाइ छ ।

कालीगण्डकी र आसपासका नदीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा विसं २०७७ माघमा २२० केभी क्षमताको सबस्टेशन बनाएको थियो । दानाबाट पर्वतको खुर्कोटसम्म ११० वटा टावर बनाएर ३९.६ किलोमिटर डबल सर्किटको तार तानिएको छ । तर पर्वत–बुटवल खण्डमा प्रसारण लाइनको काम जारी नै रहेको छ ।

विसं २०७३ जेठबाट निर्माणको थालनी गरेको मिस्त्रीखोला जलविद्युत् आयोजनाको कूल लागत रु पाँच अर्ब ६४ करोड रहेको छ । माउण्टेन इनर्जी प्रालिले निर्माण गरेको यो आयोजनाको प्रतिमेगावाट रु १३ करोड ५० लाख उत्पादन लागत रहेको छ । यो आयोजना नेपालकै सस्तोे प्रोजेक्ट भएको दाबी गरिएको छ । आयोजनाले विद्युत् प्राधिकरणसँग प्रतियुनिट वर्षायाममा चार रुपैयाँ ६६ पैसा र हिउँदमा चार रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको वडा नं ४  मा पर्ने नारच्याङमा १० वटा विद्युत् आयोजना निर्माणाधीन छन् । यहाँ ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन् ।

यस्तै कालीकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मङ्गलबार अपराह्न ४ः०० बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो ।

विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमराज सिम्खाडाले जानकारी दिए। “घरमा बालबालिका खेलिरहेको बेला आगलागी भएको हो”, उनले भने, “घरले छाएको घर जलेर पूरै नष्ट भएको छ ।”

आगलागीबाट मानवीय क्षति नभए पनि लाखौँ रुपैयाँ बराबरको धनमालको क्षति भएको वडाध्यक्ष दयाराम सिम्खाडाले बताए । उनले भने, “घरभित्रका अन्नपानी, लुगाफाटा, भाँडाकुडा, गहनासहित केही नगद रुपैयाँ जलेर नष्ट भएका छन् ।” घर जलेर नष्ट भएपछि सहदेवको छ जनाको परिवार त्रिपालमा बस्दै आएको वडाध्यक्षले जानकारी दिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया