काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुसजस्ता भीडभाडजन्य क्रियाकलाप नगर्न अपिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै काठमाडौं उपत्यका लगायतका जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै सम्बन्धित भीडभाडजन्य क्रियाकलाप नगर्न अपिल गरेको हो ।
कोरोना संक्रमण दर उच्च हुँदै गएको र अस्पतालहरुमा भेन्टिलेटर, आइसियु र आकस्मिक सेवाका बेडहरुमा बिरामीको चाप बढ्दै गएको अवस्थामा कोरोना संक्रमणको दर घटाउनुमा सबै पक्ष र समुदायको उत्तिकै भूमिका र जिम्मेवारी रहने पनि काठमाडौं जिल्ला प्रशासनले सूचनामार्फत प्रस्ट पारेको छ ।
सूचनामा भनिएको छ, ‘निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समूहबाट भिडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, (यालीजस्ता गतिविधिमा संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालना नगर्ने, भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि सञ्चालन गर्नाले कोभिड–१९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधिहरु नगर्न÷नगराउन सबै पक्षलाई सूचित गरिन्छ ।’
जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही हुने चेतावनी पनि सूचनामा दिइएको छ ।

प्रतिक्रिया