मजदुरहरुको ज्यालाको रकम लुटेर फरार रहेका एक व्यक्ति नौ वर्षपछि पक्राउ परेका छन् । विसं २०६९ मा सडक कामदारको रु आठ लाख ५१ हजार ५०० ज्यालाको रकम लुटेर भागेका ३१ वर्षीय सुुवास विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो ।
कामदारलाई वितरणका लागि निर्माण समितिका अध्यक्ष धनबहादुर राईले लगेको रकम भोजपुर नगरपालिका–२ हेलौँछाको जङ्गलबाट लुटेर विश्वकर्मा फरार भएको प्रहरीले जनाएको छ ।
विसं २०७३ मा जिल्ला अदालत भोजपुरले विश्वकर्मालाई छ वर्ष कैद र रु १२ लाख ७७ हजार २५० जरिवानाको फैसला गरेको थियो । फैसला तोकिएका विश्वकर्मालाई झापाको बेलडाँगीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए । विश्वकर्मालाई कैद भुक्तानका लागि आइतबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
यस्तै दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् ।
खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।
छिमेकीहरुका अनुसार उनीहरुले बिहान घरमा सँगै रक्सी खाएका थिए । खेतमा काम छ भनेर गएपछि बाटोमा आपसी विवादका कारण श्रीमतीको हत्या गरेको छिमेकीहरूले बताएका छन् । घटनाको विस्तृत अनुसन्धान गरिने जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले दुवै शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताए।
प्रतिक्रिया