पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर जिपका सहचालकको मृत्यु भएको छ ।
पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ७३८७ नंको पिकअप जिपमा सोमबार राति ८ बजे माथिबाट एक्कासि खसेको ढुङ्गा लागेर सहचालक स्याङ्जा वालिङ नगरपालिका–११ बस्ने २३ वर्षीय आशिष खाँणको मृत्यु भएको हो ।
घाइते सहचालक खाँणलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकामा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । जिप चालक चापाकोट नगरपालिका–५ बस्ने डिलु थापा घाइते भएका छन् । प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको बुझिएको छ ।
यस्तै मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए ।
शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
उनका अनुसार बाढीले चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, मेलम्ची–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेका छन् । यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार पनि अहिले जोखिममा रहेको छ ।
प्रतिक्रिया