मकवानपुरको भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङसहित अन्य स्थानमा खसेको पहिरो पन्छाइ आज मध्याह्नदेखि यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गएराति वर्षासँगै आएको पहिरोले भीमफेदीको धोर्सिङलगायत अन्य स्थानमा सडक अवरुद्ध हुँदा हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सुमो जीपलगायतका हलुका सवारी साधन आज बिहानैदेखि भैँसेमा रोकिएको प्रहरीले जनाएको छ ।
करिब छ घण्टासम्म रोकिएका सयौँ हलुका सवारीसाधन भैँसे–भीमफेदी सडक सञ्चालनमा आएपछि काठमाडौँतर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठले जानकारी दिए ।
यस्तै लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरुद्ध भएको हो ।
सडक भाँसिएर भत्किएकोले बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । आइतबार बेलुकादेखि आंशिक रुपमा बन्द रहेको राजमार्ग आज बिहानदेखि पूर्ण रुपमा बन्द रहेको छ ।
भाँसिएको सडक भत्काएर किनारबाट पर्खाल लगाउने कार्य भइरहेको प्रवक्ता ओझाले जानकारी दिए। उनले भने,“पर्खाल निर्माण गर्न दुई÷तीन दिन लाग्ने देखिएको छ, त्यसपछि मात्रै राजमार्ग सञ्चालनमा आउँछ ।”
राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका एक सयभन्दा बढी सवारीसाधन रोकिएपछि यात्रु अलपत्र परेका छन् ।
वर्षात्को समयमा पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ । –––
प्रतिक्रिया