काठमाडौं – दुई पटक नेपालको प्रधानमन्त्री र एक पटक राजा ज्ञानेन्द्रको शासनकालमा अन्तरिम मन्त्रिपरिषद्का उपाध्यक्ष बनेका वरिष्ठ राजनीतिज्ञ डा तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ ।
आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको राप्रपाका एक नेताले जानकारी दिए ।
गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।
कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको देहान्त भएको हो ।
राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा चिनिन्थे ।
पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने छ ।
प्रतिक्रिया