कांग्रेस महासमिति, दबाबमा नेता फुर्सदमा सदस्य

६ बर्ष अगाडि


काठमाडौं।नेपाली कांग्रेसका महासमिति सदस्यहरूले बैठकको मूल एजेन्डा पार्टीको विधानमा सहमति जुटाउन शीर्ष नेतालाई दबाब दिएका छन् । जारी महासमिति बैठकको सोमबार बिहानको बन्दसत्रमा पटकपटक सहमतिका लागि भन्दै शीर्ष नेता बस्ने तर ठोस सहमति गर्नबाट पन्छने गरेको भन्दै सहमतिसहित बैठकमा आउन भनेका हुन् ।


सोमबारको खानाअघिको बन्दसत्रमा पार्टी सभापति शेरबहादुर देउवा विधानमा सहमति जुटाउन भन्दै महासमिति स्थलबाट बाहिरिन लागेका बेला प्रतिनिधिले आफ्ना कुरा सुन्न र ठोस रूपमा सहमति गर्न भनेका थिए ।

त्यसपछि सभापति देउवासहितका शीर्ष नेता र केन्द्रीय सदस्यहरू बैठकस्थलबाट सिंहदरबारस्थित संसदीय दलको कार्यालय गएका थिए । तर, करिब चार घण्टाको प्रयाससमेत असफल भएपछि उनीहरू सहमति नजुटेको पुरानै सन्देश लिएर फेरि बन्दसत्रमा पसेका थिए । सहमतिका लागि गएका नेताहरू नफर्कंदासम्म महासमितिको बन्दसत्रसमेत रोकिएको थियो ।
दिउँसोको बन्दसत्रका क्रममा समेत महासमिति सदस्यहरूले नेताहरूले आपसमा गुट, उपगुट बनाउँदा सहमतिमा समस्या भएको भन्दै नेताहरूलाई जारी महासमितिबाटै पार्टीभित्रको गुट अन्त्य भएको घोषणा गर्न भनेका थिए ।

त्यसपछि सोमबार साँझ फेरि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै पदाधिकारी र पूर्वपदाधिकारीसहितका शीर्ष नेता विधानमा सहमति जुटाउन भन्दै छलफलमा बसेका थिए । साँझको छलफलमा समेत अन्तिम टुंगो नलागेको तर सहमतिको नजिक पुगेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

नेताहरूबीच विधानमा सहमति नभएपछि महासमिति सदस्यहरूले समेत औपचारिकताका लागि मात्रै आफू हलभित्र बस्नुपरेको गुनासो गरेका छन् ।

‘नेताहरूले महासमितिको मूल एजेन्डा विधानमाथि सहमति गर्न सकेका छैनन्, हामीहरू पनि बन्दसत्रमा औपचारिकता पूरा गर्न मात्रै बस्नुपरेको छ, खास विषय आएन,’ पाल्पाबाट आएकी महासमिति सदस्य रूपा विकले भनिन् ।
उनले खास मुद्दामा सहमति नजुट्दा महासमिति सदस्यहरूमा अन्योल रहेको जनाइन् । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया