काठमाडौं - मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट दुईवटा पल्सर मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुर बस्ने १९ वर्षीय दीपेन्द्र भुजेल, ताप्लेजुङका १९ वर्षीय विशेष लिम्बु र धनुषाका २१ वर्षीय विकल थापा रहेका छन् ।
भक्तपुर सरस्वती खेलका वासुदेव खड्काको आफ्नै घर अगाडिबाट २०७६ सालमा बा ९७ प १३०५ नम्बरको मोटरसाइकल हराएको थियो । सो मोटरसाइकलको नम्बर परिवर्तन गरेर बा ९५ प ४१६८ भएको अवस्थामा ट्राफिक प्रहरी टोलीले भुजेल र लिम्बुलाई पक्राउ गरेको हो ।
त्यस्तै पशुपति क्षेत्रबाट हराएको कीर्तिपुर बस्ने प्रशान्त रावलको बा ९६ प ८८३६ नम्बरको पल्सरको वास्तविक नम्बर परिवर्तन गरेर बा ९१ प ८६७२ नम्बर प्रयोग गरेको अवस्थामा धनुषाका थापालाई समेत भक्तपुरबाटै नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।
मोटरसाइकलसहित तीनैजनालाई थप अनुसन्धान एवं कानूनी कारवाहीका लागि प्रहरी वृत्त ठिमीमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।
प्रतिक्रिया